सुदूरपश्चिमका संक्रमितको कथा :डोटीबाट विरामी लिएर धनगढी पुगे
धनगढीः डोटीको आर्दश गाउँपालिका वडा नम्बर २ का ६२ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको खबरले त्रास फैलाएको छ। जेठ १३ गते भारतको गुजरातबाट फर्केर स्थानीय शारदा माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका उनको आरडिटी रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्नेगरी २७ गते घर पठाईएको थियो।
सोही दिन थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि गाउँपालिकाले धनगढी प्रयोगशालामा पठाएकोमा शनिबार मात्र उनको रिर्पोट पोजेटिभ आएको हो। तर ती पुरुष होम क्वारेन्टिनमा बसेका छैनन्। उनी बिरामी लिएर उपचारका लागि धनगढी आएको खुलेको छ।
‘छिमेकी बिरामी भएपछि एम्बुलेन्समा लिएर धनगढी जानुभएको रहेछ।’ वडा अध्यक्ष रामबहादुर बोहराले भने, ‘हामीलाई कुनै जानकारी थिएन। रिर्पोट पोजेटिभ आएपछि होम आईसोलेसनमा बस्न भनेका छौँ। यतिका दिन सम्म कति जनाको सम्पर्कमा गए अब कसरी ट्रेसिङ गर्ने होला।’
उनका अनुसार आरडिटी टेस्टमा नेगेटिभ आएपछि ती पुरुषलाई ७ दिन होम क्वारेन्टिनमा बस्नेगरी घर फर्काइएको थियो। डोटीबाट बिरामी लिएर आएका उनी अहिले गोदावरी नगरपालिकाको लालपुरमा आफन्तको घरमा रहेको बुझिएको वडा अध्यक्ष बोहराले दिनेश खबरलाई बताए।
यसअघि उनी धनगढीको बोराडाँडीमा पनि आफन्तको घरमा एक रात बसेको बुझिएको छ। उनको सम्पर्कमा आएकाहरु कोरोना संक्रमणको भयले त्रसित भएका छन्।
बोराडाँडीमा बस्दै आएका उनका एकजना आफन्तले दिनेश खबरसँग कुरा गर्दै भने, ‘हाम्रोमा एक रात बस्नुभएको थियो। कोरोना पोजेटिभ रहेछन् भन्ने कुरा अहिले मात्र थाहा भयो कतै हामीलाई पनि संक्रमण भएको त छैन् भन्ने पीर परिरहेको छ।’
आरडिटीको धोका, सरकारको निर्देशिकाले झनै जोखिम
आर्दश गाउँपालिकाले अहिले सम्म आरडिटी परीक्षणमा नेगेटिभ देखिएका चार जनामा कोरोना पुष्टि भएको जनाएको छ। वडा नम्बर २ र ३ मा दुई÷दुई गरी चार जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाका सिनियर अहेब बमबहादुर खड्काले बताए।
उनका अनुसार आरडिटी नेगेटिभ आएकै कारण उनीहरुलाई गाउँपालिकाको क्वारेन्टिनबाट घर पठाईएको थियो। ७ दिन अनिवार्य होम क्वारेन्टिनमा बस्ने शर्तमा घर फर्काइएकाहरु भने ग्रामीण क्षेत्र मात्र नभई एक जिल्लाबाट अर्को जिल्ला डुल्न थालेपछि जोखिम बढेको छ।
यस्तै सरकारले जारी गरेको नयाँ निर्देशिकामा लक्षण नभएका संक्रमितलाई होम आईसोलेसनमै राख्ने व्यवस्था गरेपछि समुदाय स्तरमा संक्रमण फैलिने खतरा बढेको स्वंयम स्वास्थ्यकर्मी बताउँछन्।
तर प्रदेश सरकार, स्थानीय तह लगायतका निकाय भने निर्देशिकालाई देखाउँदै कोरोनाको जोखिम न्युनिकरणमा गम्भीर नबनेको आरोप लागेको छ।