उद्योगमन्त्री भट्टको लगानी रहेको कैलालीको सैपाल ग्यास उद्योग १८ करोडमा बिक्रि
धनगढी : कैलालीको गेटामा स्थापना गरिएको सैपाल ग्यास उद्योग बिक्रि गरिएको छ। उक्त ग्यास उद्योगमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका परिवार सदस्यको लगानी रहेको थियो। झण्डै १८ करोडको लागतमा स्थापना गरिएको ग्यास उद्योग एभरेष्ट ग्यास उद्योग प्रालीले खरिद गरेको हो।
सैपाल ग्यास प्रालीका प्रबन्ध निर्देशक सिद्धराज ओझाले नेपाल एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष समेत रहेका शिव घिमिरेले उद्योग खरिद गरेको दिनेश खबरलाई बताए। प्रबन्ध निर्देशक ओझाले उद्योग बिक्रि भएसँगै सैपालको पूर्ण स्वामित्व एभरेष्ट ग्यास उद्योग प्रालीले लिने जनाए।
ओझा सहित कैलालीकै पाँचजना व्यवसायीले संयुक्त रुपमा गोदावरी नगरपालिका वडा नम्बर १ गेटामा ग्यास उद्योग सञ्चालनमा ल्याएका थिए। प्रबन्ध निर्देशक ओझाका अनुसार मानबहादुर शाही, गोपालबहादुर शाही, दिनेश शाही र निर्मलादेवी भट्टले संयुक्त रुपमा उद्योग स्थापना गरेका थिए।
उद्योगले केही महिना अघि मात्र नेपाल आयल निगमबाट उत्पादनको अनुमती पाएको थियो। एक सय मेट्रीक टनका दुईवटा ट्याङकीबाट अत्याधुनिक प्रविधीको प्रयोग गरी १४ हजार सिलिन्डरमा एकैपटक ग्यास भर्न सकिनेछ व्यवस्था उद्योगमा रहेको छ।