सुदूर नेपाललाई विश्वसँग जोड्दै

'डाइपर' लगाएर काम गर्छन् धनगढीका कोरोना प्रयोगशालाका प्राविधिक

२०७७ असार ६, ०२:५० आशिष मल्ल

धनगढी: अहिले धनगढी प्रयोगशालामा खटिएका प्रयोगशालाकर्मीहरु कोरोना जाँचका लागि संकलन भएका तमाम नमूना केलाउनमा व्यस्त छन्। विहान ७ बजे प्रयोगशाला छिर्ने गरेका उनीहरु आफ्नो ड्युटी समयसम्म एउटा पिपिई(व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री) लगाएर स्वाबहरुको चेकजाँच गरिरहेका छन्। 

एउटा पिपिई लगाएपछि अर्को फेर्दा सरकारको बजेट खेर जान्छ भनेर उनीहरु सौचालय जानुपर्छ भन्ने डरले पानी समेत पिउँदैनन्। ‘एउटै पिपिईको ४/५ हजार पर्छ’ धनगढी प्रयोगशालामा काम गरेका ल्याब अधिकृत इश्वरीप्रसाद भुसालले भने, ‘शौचालय गएर आउँदा फेरि नयाँ पिपिई लगाउनुपर्ने हुन्छ। त्यसैले पिपिई सेट खेर जाने भएर पानी समेत नपिएर साथिहरु काम गर्दैछन्।’

स्वाबको नमूना परीक्षण गर्न शुरु गरेपछि नतिजा निकाल्न कम्तीमा ५/६ घण्टा लाग्छ। पोजेटिभ आएकालाई कहिलेकाही दोहो¥याएर पनि गर्नुपर्छ। त्यो काम गरुञ्जेल पिपिई लगाइराख्नुपर्छ। जसले गर्दा उनीहरुले शौच रोकेर राख्नुपथ्र्यो। तर उनीहरुले अचेल त्यो समस्याको जुक्ती निकालेका छन्। ड्यूटी सुरू भएपछि शौचालय जान नमिल्ने भएका कारण अचेल प्रयोगशालाकर्मीहरु नवजात शिशुका लागि प्रयोग हुने ‘डाइपर’ लगाएर काममा खटिने गर्छन। 

ल्याब अधिकृत भुसालका अनुसार काम गर्दागर्दै बिचमै ट्वाइलेट जानुपर्ने आपत आउला कि भनेर सबैजना डाइपर लगाउँछन्। ‘के गर्ने कुनै उपाय नभएपछि डाइपर प्रयोग गरिरहेका छौ, तर त्यसमा पनि जोखिम छ। महिनावारी भएकी महिला प्रयोगशालाकर्मी तथा पुरुषले पनि धेरै लामो समयसम्म डाइपर प्रयोग गर्र्दा अन्य रोगको संक्रमण होलाकी भन्ने डर छ’ उनले भने। 

 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस