सुदूर नेपाललाई विश्वसँग जोड्दै

पालिकामा आइसोलेसन र क्वरेण्टीन निर्माणका लागि ३५ करोड रुपैयाँ उपलब्ध गराइने

२०७७ असार ६, ०५:५० खबर संवाददाता

सरकारले पालिकामा आइसोलेसन र क्वरेण्टीन निर्माणका लागि ३५ करोड रुपैयाँ उपलब्ध निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले प्रदेश सरकारमार्फत पालिकाहरुलाई रकम उपलब्ध गराउने निर्णय गरेको हो।

कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा थप क्वरेण्टीन र आइसोलेसन निर्माण गर्नुपर्ने भएकाले केन्द्रीय कोभिड–१९ कोषबाट ३५ करोड रुपैयाँ पालिकालाई उपलब्ध गराउने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। देशभरीका क्वरेण्टीनलाई थप सुधार गरी अनुगमन र सहजीकरणको जिम्मेवारी प्रदेश सरकारलाई दिइएको छ। आइसोलेसन सेन्टर व्यवस्थापनको जिम्मा पनि प्रदेश सरकारले पाएको छ।

सीसीएमसीले वैदेशिक रोजगारीमा रहेर बिदामा नेपाल आएका वा नयाँ रोजगारीका लागि विदेश जानेहरुको हकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सिफारिस गरेर पठाउने निर्णय पनि गरेको छ। अध्ययनका लागि जानेहरुको हकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिफारिस गर्नेछ । विदेशमा रहेका नेपाली कुटनीतिक नियोगका कर्मचारीहरुका परिवारका सदस्यहरुलाई आवश्यक ‘प्रोटोकल’ सहित जान छुट दिने निर्णय पनि सीसीएमसीले गरेको उनले बताए।

सीसीएमसीले सम्बन्धित देश र रोजगारदाताले खर्च नव्यहोर्ने तथा आफ्नो खर्चमा नेपाल आउन नसक्ने श्रमिकहरुको हकमा सरकारी खर्चबाट नेपाल फर्काउने कार्यविधि बनाएर लागू गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ। सङ्क्रमणको जोखिममा रहेका फरक क्षमता भएका, बालबालिका, वृद्धहरुको उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको उनले बताए।

यस्तै सङ्क्रमण बढ्दै गएपछि जोखिम मूल्याङ्कन गरी सम्बन्धित क्षेत्र वा जिल्लालाई सिल गर्ने अख्तियारी प्रदेश सरकारलाई दिइएको छ। सीसीएमसीसँग समन्वय गरेर मात्रै सिल गर्ने निर्णय प्रदेशले लिन पाउनेछ। केन्द्र मातहतमा रहेका क्वरेण्टीन र होल्डिङ सेन्टरमा खानपानको जिम्मा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई दिने निर्णय पनि सीसीएमसीले गरेको छ।
 

कमेन्ट लोड गर्नुस