सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सरकारले खारेज गरेका भुसे ईटा उद्योग निर्वाध सञ्चालन, प्रशासन बेखबर

२०७७ असार ५, १२:४८ जनक विष्ट

धनगढी : २०७४ सालको माघ २९ मा बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको बैठकले भुसे ईटा उद्योगहरुको दर्ता स्वतः खारेज हुने निर्णय गर्दै त्यस्ता उद्योगलाई आधुनिक प्रविधीमा रुपान्तरण गर्ने भनेको छ। सोही अनुसार कैलालीमा पनि घरेलु तथा साना उद्योग कार्यालयले २०७५ साल बैशाख २ गते सूचना जारी गर्दै भुसे ईटा उद्योगहरुलाई आधुनिक प्रविधिमा रुपान्तरण गर्न अन्तिम पटक एक वर्ष थप गरिएको उल्लेख गरेको छ।

घरेलु तथा साना उद्योग कार्यालय धनगढीका प्रमुख नवराज भट्टले संघिय सरकारको निर्देशन अनुसार कैलालीमा समेत भुसे ईटा उद्योगहरुलाई नविनतम प्रविधीमा रुपान्तरण गर्न सूचना जारी भएको बताए। तर जिल्लामा भने कानून अनुसार स्वतः दर्ता खारेज गरिएका भुसे ईटा उद्योगहरु निर्वाध रुपमा सञ्चालनमा रहेका हुन्।

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी उप–महानगरपालिका क्षेत्रमै दर्जनौँ भुसे ईटा उद्योगहरु सञ्चालन भएपनि नियमनकारी निकायले नियमन गरेका छैनन्। धनगढीको वडा नम्बर ९ मा मात्रै झण्डै आधा दर्जन भुसे ईटा उद्योग सञ्चालन रहेका छन्। सोही वडामा सञ्चालन रहेको एउटा भुसे ईटा उद्योगका सञ्चालक ओम पाठकले भने राज्यलाई वर्षेनी कर तिर्दै आएको दावी गरे।

उनले राज्यले घरेलु मदिरालाई समेत प्रतिबन्ध लगाउन नसकेको उल्लेख गर्दै आफूहरुले उद्योग सञ्चालन गरी स्थानीय स्तरमै रोजगारी दिएको तथा करको दायरा रहेको उनी बताउँछन्। यसअघि पटक–पटक संघिय सरकारसँग अनुरोध गर्दा समेत वेवास्ता हुँदै गएको गुनासो उनको छ।

स्थानीय तहका जनप्रतिनिधीको मिलेमतोमा निर्वाध रुपमा प्रतिबन्धीत भुसे ईटा उद्योगका कारण वर्षेनी राज्यलाई कर छली मात्र नभएर ठुलो घाटा भईरहेको छ। स्थानीय स्तरमा सञ्चालन हुने विकास निर्माणमा समेत दुई नम्बरी ईटा प्रयोग गरिदा गुणस्तरहीन काम हुने गरेको छ।

तर वडा नम्बर ९ का अध्यक्ष प्रेमबहादुर भण्डारीले आफूहरु निर्वाचित हुनु भन्दा पहिलेदेखि नै भुसे ईटा उद्योग सञ्चालनमा रहेको जनाए। उनले वडामा उद्योग सञ्चालनमा रहेको जानकारी भएपनि नियमन गर्ने अधिकार आफूहरुसँग नभएको प्रतिक्रिया दिए। उद्योगहरुसँगको मिलेमतोको आरोपमा सत्यता नभएको जिकिर उनको थियो।

तर यसरी दर्ता बिना सञ्चालनमा रहेका उद्योगहरुका कारण ईटा व्यवसायी समस्यामा परेको बताउँछन्। ईटा व्यवसायी संघ कैलालीका महासचिव सुरेन्द्र कठायतले सरकारले नै प्रतिबन्ध गरिसकेका ईटा उद्योगहरु निर्वाध रुपमा सञ्चालन हुँदा समस्या भएको बताए।

उनले आफूहरुले राज्यलाई कर तिरेर व्यवसाय गर्दै आएका बेला भुसे ईटा व्यवसायीहरुले कर नतिरेरै सस्तोमा कमसल ईटा विक्रि गर्दा मर्कामा परिएको जनाए। सरकारले भुसे ईटा उद्योगका कारण वातावरणमा प्रतिकुल असर परेको भन्दै आधुनिक प्रविधीमा रुपान्तरण गर्ने समय दिएको थियो।

तर कैलालीमा अहिले सम्म ७÷८ व्यवसायीले मात्र प्रविधीमा रुपान्तरण गरेको भएपनि अधिकांशले भुसे ईटा मात्र उत्पादन गरिरहेका छन्। त्यसरी गैरकानूनी रुपले हुने उत्पादनलाई रोक्ने अधिकार स्थानीय प्रशासन लगायतका घरेलु तथा साना उद्योग कार्यालयको भएपनि वेवास्ता गरिएको छ।

तर घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नवराज भट्टले भुसे ईटा व्यवसायीले नयाँ प्रविधिमा जानुपर्ने बताए। उनले  अहिले प्रदेश सरकारले कार्यविधी बनाइरहेकाले अब सोही अनुसार व्यवस्थापन गरिने उनको भनाई थियो।

कैलालीमा प्रतिबन्धीत भुसे ईटा उद्योगहरु निर्वाध रुपमा सञ्चालन भईरहेको बारे प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरासँग बुझ्दा उनले उक्त विषयमा खासै जानकारी नभएको प्रतिक्रिया दिए। 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस