सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीमदत्त नगरपालिकाद्वारा एक अर्ब ४६ करोडको बजेट प्रस्तुत

२०७७ असार ५, ११:०७ रासस

कञ्चनपुरको भीमदत्तनगरपालिकाले बिहीबार सातौँ नगरसभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ४६ करोड ७५ हजारको बजेट ल्याएको छ। नगर सभाबाट आगामी आर्थिक वर्ष २०७७।०७८ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको हो। कोरोना महामारीलाई मध्यनजर गरी स्वास्थ्य, शिक्षा, रोजगार, उत्पादनलाई प्राथमिकता दिएर नीति, कार्यक्रम र बजेट बनाइएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिए।

सभामा सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वराज्यमन्त्री प्रकाश रावलले नगरसभाबाट पारित योजना कार्यान्वयनका लागि प्रदेश सरकार सहकार्य गर्ने बताए। उनले स्थानीय सरकारले पास गर्ने योजना कार्यक्रममा प्रदेश सरकार सहकार्य र समन्वय गरी जाने प्रतिबद्धतासमेत व्यक्त गरे। कोरोनाका कारण भारतबाट घर फर्किएका नागरिकलाई रोजगारी दिने गरी बजेट ल्याउन आग्रहसमेत गरे। प्रदेशसभा सदस्य मानबहादुर सुनारले भीमदत्त नगरपालिकाले तीन वर्षमा विकास निर्माणमा फड्को मारेको उल्लेख गर्दै साताँै नगरसभाबाट नगर विकासको ठोस नीति र कार्यक्रम पारित हुने विश्वास व्यक्त गरे।

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह, महाकालीमा चार लेन पुल, मझगाउँ विमानस्थल, महाकाली अस्पताल सुधारलगायत ठूला योजनालाई तिनै तहको सरकारले प्राथमिकता दिएको प्रदेश सदस्य सुनारले बताए।

यसअघि भीमदत्त नगरपालिकाले रु एक अर्ब ३० करोड बजेट विनियोजन गरेको थियो। त्यसैगरी नगरसभामा अर्का प्रदेशसभा सदस्य लालबहादुर खड्काले स्थानीय तहका मागअनुसारका योजनालाई प्रदेश सरकार प्राथमिकता दिने बताए।

प्रदेश सरकारले कोरोना महामारीलाई सम्बोधन हुने गरी कृषिलाई आधुनिकीकरण, व्यवसायीकरणका कार्यक्रम ल्याएको उनले बताए। बजेटमा एक सहकारी एक उत्पादन, गरिब पहिचान, योग खेलकूद कार्यक्रम, एक वडा एक उत्पादन, करेसाबारी निर्माणलगायतका नयाँ कार्यक्रम समावेश गरिएका छन्। 
 

कमेन्ट लोड गर्नुस