सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा यार्सा संकलन गर्न लेकतिर जाने क्रम बढ्दो

२०७७ असार ४, ०५:३६ डीवि विष्ट

बझाङ: बझाङमा यार्सागुम्बा संकलन बन्द गरिएको भएपनि लुकिछिपी जानेहरुको क्रम भने दिन प्रतिदिन बढ्दै गएको छ। 

जिल्लाको सुर्मा गाँउपालिकाका अधिकांश युवा तथा परिवारसहित यार्सा संकलनका लागि लेकतर्फ गएका छन्। घरमा ताला लगाएर सयौंको संख्यामा यार्सा संकलन गर्न जानहरुकोे क्रम बढेको छ।  सुर्मा गाउँपालिका लगायत अन्य स्थानीय तहबाट यार्सा संकलन गर्न जानेक्रम बढेको स्थानीयले जानकारी दिएका छन्। 

३ महिना यार्सा संकलन गरेर बर्षभरी बालबालिकाको पढाई खर्च, दैनिक उपभोग्य बस्तुहरु खरिद गर्ने भएका कारण यहाँका सबैजसो अहिले लेकतिर जाने गरेको स्थानीय दिनेश बोहोराले बताए। मन्त्रिपरिषद्को निर्णयले यार्सा जडीबुटी संकलनमा रोक लगाएको भएपनि यहाँका स्थानीयको मुख्य आयस्रोतको माध्यम यार्सा भएका कारण उनीहरु लुकिछिपी संकलन गर्न जानेगरेका छन्। यार्सा संकलन नगरे जिल्लाको सुर्मा, साईपाल लगायत अन्य स्थानीय तहमा भोकमरी हुने भएका कारण यहाँका स्थानीय भागेर भएपनि लेक पुग्ने गरेका छन्।  

उता गाउँपालिका, प्रशासन, डिभीजन बन कार्यालय लगायतले समेत यार्सा संकलन नगर्न पटकपटक आग्रह गर्दै आएको छ। डिभिजन बन कार्यालय बझाङका कार्यालय प्रमुख कर्णबहादुर कठायतले अधिकांश नागरिकहरु यार्सा संकलन गर्न लेक गएको स्विकार गर्दै यसको रोकथामका लागि जिल्लाबाट बन रक्षकसहितको टोली जंगल  पठाइएको बताए। साथै उनले यार्सा संकलनको कार्य खुलाउन भन्दै सरकारलाई बिहीबार पत्राचार गरिसकेको बताए।

यस्तै प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले प्रहरी परिचालन गरी ९ जनालाई नियन्त्रणमा लिएर डिभिजन बन कार्यालयमा कार्वाहीका लागि पठाइएको र अहिलेपनि जिल्लाबाट प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको बताए। नियम विपरीत जाने जोकोहीलाई पनि प्रचलित ऐन अनुसार कारवाही हुने उनले बताए।  

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस