सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा बहुविवाहको मुद्धामा फरार अभियुक्त हतियारसहित पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७७ असार ४, ०५:०९ डीवि विष्ट

बझाङ: बझाङको सुर्मागाँउपालिका –२ का दुई जनालाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ। प्रहरीले लोकबहादुर बोहरा र उनकी कान्छी श्रीमती निर्मला विसीलाई गाउँ नजिकैको ओडारबाट एक थान भरुवा भन्दुकसहित प्रक्राउ गरेको हो। 

एक महिनाअघि बोहराले गाउँ नजिकैकी निर्मला विसीसँग दोस्रो विवाह गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नेत्रबहादुर बोहराले बताए। बोहराले दोस्रो  विवाह गरेपछि उनकी जेठी श्रीमती रेखा बोहराले प्रहरीमा बहुविवाहको मुद्धा दर्ता गराएको इन्सपेक्टर बोहराले जानकारी दिए। 

मुद्धा दर्तापछि प्रहरीले बोहराको खोज तलास गरिरहेको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गणेश बमका अनुसार बोहराको खोजतलास गर्दैजाँदा ईलाका प्रहरी चौकी दौलीचौरको टोलीले बिहीबार बिहान ४ बजे गाउँनजिकै रहेको जंगलको ओडारमा बसीरहेको अवस्थामा दुवैलाई फेला पारेको हो। 

दुबै जनालाई अहिले थप अनुसन्धानका लागि हिरासतमा राखिएको डिएसपी बमले बताए। अन्तरजातीय विवाह गरेका कारण बोहरा गाउँ फर्कन नसकेर ओडारमा बस्दै आएका हुनसक्ने प्रहरीले आशंका गरेको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस