सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका युवाद्वारा भिटिएम खरीद गरी नगरपालिकालाई हस्तान्तरण

२०७७ असार ३, ०१:१९ डीवि विष्ट

बझाङ: बझाङको बुंगल नगरपालिकाका युवाहरुले पिसीआर परीक्षणमा प्रयोग हुने भिटिएम खरीद गरी नगरपालिका लाई बुझाएका छन्। नगरपालिकाले गत बर्ष खेलकुद विकासका लागि भन्दै बुंगल खेलकुद विकास समितिलाई २ लाख बजेट बिनियोजन गरेको थियो। यस्तै परिवर्तनशिल बाल युवा संञ्जालकालाई विभिन्न नगरपालिका भित्र रहेका बालबालीकाहरुको क्षमता विकास गर्ने उदेश्यले २ लाख बजेट विनियोजन गरेको थियो। 

यहाँका युवाहरु मिलेर उक्त रकमको पिसीआर परीक्षण गर्नका लागि ४ लाख मुल्य बराबरको भिटिएम खरीद गरी नगरपालिकालाई हस्तान्तरण गरिएको परिवर्तनशिल बाल युवा संञ्जालका अध्यक्ष आयुस सिहँले बताए। त्योेसंगै नगरपालिकालाई अन्य स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरिएको छ। बुंगल नगपालिका खेलकुद विकास समितिले मात्रै ३०० थान भिटीएम किट्स, केएन ९५ माक्स् १८०, सेनिटाईजर, ग्लोब्स, सर्जिकल माक्स, लगायतका स्वास्थ्य सामग्री खरीदगरी नगरपालिकालाई हस्तान्तरण गरिएको खेलकुद विकास समितीका अध्यक्ष धनशेर ओखेडाले बताए।

महामारीको यो अवस्थामा सबैले आ–आफ्नो ठाँउबाट सहयोग गर्नुपर्ने बताउदै मानवताको धर्म अनुसार उक्त रकम खर्च गरी नगरपालिकालाई सहयोग गरिएको उनले बताए। अन्य ठाँउमा प्रयोग गर्नुभन्दा अहिले सबैभन्दा उत्तम महामारीमाका बेला सहयोग गर्नुपर्ने ठानेपछि समितिको बैठेकले स्वास्थ्य सामग्री खरीद गरी नगरपालिकालाई सहयोग गरेको ओखेडाले बताए। उक्त स्वास्थ्य सामग्रीले ठुलो सहयोग पुगेको नगरपालिकाका मेयर धनबहादुर विष्टले बताए। नगरपालिकाले ६ सय भिटीएम प्राप्त गरेको बताउँदै मेयर विष्टले दुवै समुहलाई स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा धन्यबाद समेत ज्ञापन गरे। 

अहिलेसम्म नगरपालिका भित्र रहेका १४ वटा क्वारेन्टिइनमा सात सय भन्दा बढी भारतबाट पुगेका स्थानीयहरु बसीरहेका छन्। उनीहरुको परीक्षणमा अहिले नगरपालिकाले विषेश जोड दिइरहेको बुंगल नगरपालिकाका नमित्त प्रमुख प्रशासकीय अधिकृत भरत रोकायाले बताए। भारत तथा विदेशबाट स्वदेश आउनेहरुलाई अनिवार्य रुपमा १४ दिनसम्म क्वारेन्टिइन बस्नुपर्ने, त्यतीन्जेलसम्म नगरपालिकाले नै खानाको ब्यावस्था मिलाउदै आएको छ। त्यसका लागि दैनिक झण्डै एक लाख भन्दा बढी खर्च हुने गरेको बताइएको छ। 

नगरपालिकाले विभिन्न विकास निर्माणका कामका लागि विनियोजन गरेको बजेट र विभिन्न सचेतनाका लागि विनीयोजित बजेटलाई रुपान्त्रणगरी कोरोना विषेश कोषमा जम्मा गरिएको अधिकृत रोकायाले बताए।  
 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस