सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा महिलामैत्री क्वारेन्टिन नभएको गुनासो

२०७७ जेठ ३२, ०१:४० खबर संवाददाता

प्रताप ओली, बझाङ: बझाङका २ सय २५ वटा क्वारेन्टिनमा शनिबारसम्म २ हजार ९ सय ९ जना बसिरहेका छन्। त्यसमध्ये ६ सय १८ जना महिला रहेका छन्। यो संख्या दिनकै थपिने र घट्ने भइरहन्छ। 

यी सबै महिलाहरुले आफूहरु अनुकुल क्वारेन्टिन नभएको गुनासो गरेका छन्। उनीहरुले सामान्यतया दुध चुसाउन, महिनावारी भएका समयमा सुरक्षित हिसाबले नुहाउन तथा लुगाकपडा फेर्न नपाएको गुनासो गरेका छन्। साथै गर्मीको समय भएकाले सुत्न, चर्पिको प्रयोग गर्न लगायतका समस्या भएको उनीहरुको दुखेसो छ। छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर २ को शिशु आधारभूत विद्यालयको क्वारेन्टिनमा बसिरहेकी दुर्गा शार्कीले एउटै धारा, एउटै शौचालयको प्रयोगले आफूहरु हरेक हिसाबले असुरक्षित रहेको बताइन्। 

यस्तै थलारा गाउँपालिकाका वडा नम्बर ५ का विमला उपाध्यायले आफूहरुलाई देव दुर्गा आधारभूत विद्यालयको एक कोठामा राख्न खोजेको तर मूल ढोका नभएकाले आफूहरु असुरक्षित महशुस गरी आफ्नै छानामा बसिरहेका बताए। कतिपय महिलाहरुले सरसफाई गर्न पानी नपाइने, छोराछोरी चिच्याउँदा पनि उनीहरुलाई शात्वना दिन गाह्रो हुने गरेको गुनासो गरेका छन्। महिलाहरुले क्वारेन्टिन व्यवस्थित गराइदिन जनप्रतिनिधिलाई आग्रह गरेका छन्। 'एउटै धारा छ, खुल्लम खुल्ला आकाशमा कसरी नुहाउनु ? भारतबाट आएदेखि शरिर राम्रोसँग नुहाउन पाएकी छैन' शिशु आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसिरहेकी दुर्गा शार्कीले भनिन्।

‘आफूहरु भारतबाट आएपछि ढोका नभएको विद्यालयको कोठामा राख्न खोजियो तर हामी बस्न सकेनौं’ थलारा गाउँपालिकाकी विमला उपाध्यायले भनिन्, “हामीले धेरै सुविधा त मागेका थिएनौं। यस्तो समयमा ढोका नभएको कोठामा कसरी बस्नु ? श्रीमान्सँगै भएपनि बस्न मन लागेन। अहिले हाम्रो एउटा खरले छाएको छानामा बसिरहेका छौं। ९ दिन भयो भारतबाट आएको तर अहिलेसम्म कसैले भेटेका छैनन्।”

क्वारेन्टिनमा बसिरहेका बेला कसैमा आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएको खण्डमा मनोबल कमजोर हुने गरेको छबिसपाथिभेरा २ का दिनेश रावलले बताए। उनले भने, ‘बेलाबेला हामी निकै कमजोर हुने गर्छौ। न त स्वास्थ्य चेकजाँच गरिन्छ न त जनप्रतिनिधि भेट्न नै आउँछन। गाउँलेहरु पनि विद्यालय हातामा देखे धपाउन थाल्छन्।’

कमेन्ट लोड गर्नुस