विभिन्न माग राख्दै नेपाली कांग्रेस गौरीगंगाद्वारा प्रदेश सरकारलाई ध्यानाकर्षण
धनगढी : नेपाली कांग्रेस गौरीगंगा नगर कार्यसमितिले नगरपालिका भित्रका क्वारेन्टिनमा रहेकाहरुको उचित व्यवस्थापन र पिसीआर चेकजाँच चाडो हुनुपर्ने मागसहित सुदूरपश्चिम प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ। बुधबार काग्रेसले सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई उक्त ध्यानाकर्षण पत्र बुझाएको हो।
गौरीगंगा नगरभित्रका क्वारेन्टिनको अवस्था अत्यन्तै नाजुक भएकाले उनीहरूको गाँस र बासको उपयुुक्त व्यवस्था गरिनुपर्ने र लामो समयसम्म क्वारेन्टिनमा बसेकाहरुको चाडो पिसीआर चेकजाँच गरिनुपर्ने माग गरिएको नगर सभापति काशीराम शर्माले बताए।
ध्यानाकर्षण पत्र बुझ्दै सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले प्रदेश सरकारले गौरीगंगा नगरपालिकामा १५ लाख रुपैयाँ छुट्याएकाले क्वारेन्टिन व्यवस्थापनमा सहज हुने बताएका छन्। मन्त्री सुवेदीले सुदूरपश्चिम प्रदेशमा मेसिन जडान गराई छिट्टै स्वाब संकलन गर्न लगाइने बताए।
ध्यानाकर्षण बुझाउन नेपाली कांग्रेसका जिल्ला सदस्यद्वय रामबहादुर कलेल, भोजबहादुर बम, नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का सभापति दिनेशराज जोशी, नेपाली कांग्रेस जिल्ला सल्लाहकारद्वय सदस्य फणी सापकोटा, यज्ञनिधि कोइराला, पूर्व क्षेत्रीय सचिव मोहन साउँद, क्षेत्रीय सदस्य प्रकाश थापा, नेपाली कांग्रेसका युवा नेता बिष्णु भाट लगायतको उपस्थिति रहेको थियो।