कैलालीमा कोरोना संक्रमितको सङख्या ६० पुग्यो, एकको मृत्यु, ९ डिस्चार्ज, एक रेफर
धनगढी : आज कैलालीका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लामा संक्रमितको संख्या ६० पुगेको छ। सुदूरपश्चिममै सबैभन्दा बढि संक्रमित कैलालीमै रहेका छन्। आज टीकापुर नगरपालिका पाँच जना पुरुषमा कोरोना पुष्टि भएको हो।
कैलालीमा सबैभन्दा बढि गौरीगंगा नगरपालिकामा २० जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै टीकापुर नगरपालिकामा १३ जना, धनगढी उप–महानगरपालिकामा ११ जना, जानकी गाउँपालिकामा ९ जना, लम्कीचुहा नगरपालिका २ जना, भजनी नगरपालिका, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका, मोहन्याल र बर्दगोरिया गाउँपालिकामा एकरएक जना कोरोना संक्रमित भेटिएका छन्।
संक्रमित मध्ये हाल सम्म नौँ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन्। एक जनाको मृत्यु भएको छ भने एक जना थप उपचारका लागि काठमाडौँ रेफर भएका छन्।
प्रदेशकै पहिलो पटक चैत १४ गते कोरोना संक्रमण देखिएका धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुष, त्यसपछि चैत २२ गते धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, लम्कीका २१ वर्षीय युवक र बैशाख १ गते संक्रमण पुष्टि भएकी लम्कीचुहा नगरपालिका वडा नम्वर १ की ६१ वर्षीय महिला कोरोनाई जितेर घर फर्किसकेका छन्।
जानकी गाउँपालिकाका ५ जना पनि कोरोनालाई जितेर डिस्चार्ज भएका छन्। अन्यको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पतालको आईसोलेसन वार्ड र सम्बन्धीत क्वारेन्टाइनमै राखेर उपचार भइरहेको छ।
कैलालीपछि कञ्चनपुरमा ३४, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ।