सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका १० जनाको स्वाब संकलनको ९ दिनपछि कोरोना परीक्षण, सबैमा संक्रमण पुष्टि

२०७७ जेठ २७, ०८:०० खबर संवाददाता

धनगढी : दार्चुलाका थप १० जनामा सोमवार कोरोना पुष्टि भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिकाका ८, महाकाली नगरपालिका र लेकम गाउँपालिकाका एक÷एक जनामा कोरोना पुष्टि भएको हो। संक्रमित सबै पुरुष रहेका छन्।

उनीहरुको नौँ दिन अगाडि नै स्वाब संकलन गरीएकोमा सोमवार मात्रै पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलालले जनाएको छ। कोभिड–१९ दार्चुलाका सम्पर्क व्यक्ति विरेन्द्र प्रशाद भट्टले सक्रमण पुष्टि भएका सबैको जेठ १८ गते नै स्वाब संकलनका लागि धनगढी पठाइएको जानकारी दिए।

‘शैल्यशिखर नगरपालिकाका ८ जना, महाकाली नगरपालिका र लेकम गाउँपालिकाका एक÷एक जनाको स्वाब संकलन १८ गते नै भएको थियो,’ भट्टले दिनेश खवरलाई भने, ‘अहिलेसम्म १० जनाको मात्रै परीक्षण रिपोर्ट आएकोमा सबैको रिपोर्ट पोजेटिभ आएको छ। सोही दिन स्वाब संकलन गरीएका थप दुई सय १७ जनाको रिपोर्ट आउन बाँकी छ।’

उता कञ्चनपुरमा सोमवार मात्रै १९ जनामा कोरोना पुष्टि भएकोमा उनीहरुको पनि चार दिनअघि नै नमुना संकलन गरीएको थियो। धनगढी प्रयोगशालामा स्वाबको चाप धेरै र परीक्षण क्षमता कम हुँदा समस्या बढेको छ। प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार प्रयोगशालाको डि–फ्रिजमा एक हजार ६ सय ८३ वटा थ्रोट स्वाबको नमुना परीक्षणका लागि राखिएको छ। 
 

कमेन्ट लोड गर्नुस