सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा आरडिटीको भर पर्दा कोरोनाको जोखिम बढ्यो

२०७७ जेठ २६, १०:४९ भुवन भट्ट

धनगढी : शुक्रबार सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेकी धनगढीकी ५५ वर्षीया महिलाको आरडिटी रिर्पोट नेगेटिभ देखाएपछि डायलासिस वार्डले भर्ना लिएको थियो। अस्पतालको तेस्रो तलामा बिरंग हेल्थ केयर सेन्टरले सञ्चालन सञ्चालन गर्दै आएको वार्डमा डायलासिस गराउने बेला ती महिलाको सोही दिन मृत्यु भएपछि पीसीआर परीक्षणका लागि नमूना संकलन गरिएको थियो।

आरडिटी रिर्पोट नेगेटिभ आएकै कारण बिरंग हेल्थ केयरले उनको शव आफन्तलाई बुझाईसकेको थियो। आफन्तले महिलाको अन्त्येष्टि गरेपछि उनमा  कोरोना संक्रमण पुष्टि भएपछि अहिले त्रास फैलिएको छ भने मलामी गएका सबैको परीक्षण गर्ने तयारी गर्दै ती महिला बस्दै आएको टोल नै सिल गरिएको छ।

यस्तै वीरगञ्जबाट गएको चैत ९ गते लम्की फर्किएकी ६० वर्षीया महिलामा आरडीटी नेगेटीभ देखिएको थियो। आरडिटी नेगेटिभ देखिएपछि १७ दिनपछि क्वारेन्टिनबाट घर पठाईएकी उनमा पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो। सेती अस्पतालबाट कोरोना जितेर घर फर्किसकेकी ती महिलामा कोरोना पुष्टि हुँदा उनी बस्दै आएको गाउँमा समेत त्रास फैलिएको थियो।

संयोग नै मान्नुपर्छ उनको सम्पर्कमा आएका अन्यमा कोरोनाको संक्रमण देखिएन। यसरी विश्व स्वास्थ्य संगठनले समेत मान्यता नदिएको आरडिटीको भर पर्दा सुदूरपश्चिममा झनै जोखिम बढेको हो। सेती प्रादेशिक अस्पतालको कोभिड–१९ उपचार विभाग प्रमुख डाक्टर शेरबहादुर कमरले आरडिटी किटले संक्रमण भए÷नभएको पुष्टि गर्न नसक्ने भएपनि मानिसको रोगप्रतिरोधी क्षमता एन्टीबडी मात्र पत्ता लगाउन सहयोग गर्ने बताए।

उनले कोरोना भाइरसको संक्रमण पत्ता लगाउन पीसीआर विधीबाट परीक्षण बढाउनुपर्ने सुझाव दिएका छन्। चिकित्सकहरुले यसअघि पनि पटक–पटक आरडिटी किटले मानिसको रोग प्रतिरोधी क्षमता मात्र पत्ता लगाउन सकिने भएकाले संक्रमणको पहिचान गर्न मुस्कील हुने बताउँदै आएका थिए। तर प्रदेशमा आरडिटी परीक्षणलाई मात्र प्राथमिकता दिईएपछि जोखिम फैलिने खतरा बढेको हो।

पहिलो पटक कोरोना परीक्षणका लागि किट परीक्षणको प्रक्रिया थालेको प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले विश्वसनीयता नै नभएका २० हजार किट खरिदको तयारी थालेको छ। प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी लक्ष्मी श्रेष्ठले किट खरिदको प्रक्रिया अगाडी बढाईएकाले केही दिनमा पूर्णता पाउने बताए।

र्‍यापिड टेष्ट गर्दा नेगेटिभ देखाएकाको पिसीआर परीक्षण उपयुक्त नठानेको प्रदेश सरकारले अझै आरडीटी परीक्षण नै प्राथमिकतामा राखेपछि वास्तविक संक्रमीतको पहिचान नहुने देखिएको छ। प्रदेश सरकार भने पिसीआर अन्तीम विकल्प भएपनि आरडिटी परीक्षणको पनि छुट्टै महत्व भएको भन्दै फजुल खर्च बढाउनमा केन्द्रीत छ।

यद्यपी आरडिटी विधी पूर्ण विश्वसनीय नभएको स्वयम अधिकारीहरुले स्वीकार गरेका छन्। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले विश्वको स्वास्थ्य विज्ञानमा कोरोना नयाँ चुनौती देखा परेको बताए।

आरडिटीले  रोगसँग लड्न सक्ने क्षमता देखाउने भएकाले महामारीको समयमा पिसीआर नै अन्तिम विकल्प भएको उनले स्वीकार गरे। जनशक्ति अभाव तथा विविध कारणले पिसीआरले पूर्णता पाउन नसकेको बताउदै उनले प्रदेश सरकार दायरा बढाउनमा लागी परेको दावी गरे।    
 

भुवन भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस