सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा पीसीआर मेसिनको खाँचो

२०७७ जेठ २४, ०४:५० डीवि विष्ट

बझाङ : बझाङका क्वारेन्टाइनहरुमा भारतबाट फर्किएकाहरु भरिभराउन हुन थालेपछि कोरोना भाइरसको भरपर्दो चेकचाँच विधि पीसीआर मेसिनको अभाव महसुश गर्न थालिएको छ।

यहाँका स्वास्थ्य अधिकारी तथा जनप्रतिनिधिहरुले संकलन गरिएको स्वाब प्रादेशिक प्रयोगशालमा पठाउन कहिले जिल्ला अस्पतालसँग सवारी साधन नहुने, कहिले प्रयोगशालामा रिपोर्ट ढिलासुस्ती हुने र भविष्यमा पनि यस्तो महामारी आउँदा भाइरस चेक गर्न आवश्यक भएकाले मेसिनको जिल्लामा खाँचो देखिएको बताएका छन्।

जिल्लामा हुने सिएमसीको बैठकमा अहिलेको अवस्थालाई मध्यनजर गरी जिल्लामा एउटा पीसीआर मेसन आवश्यक भएको भन्दै माग गरिएको हो। प्रदेश सरकारको भर नपरी जिल्लाका सबै स्थानीय तह मिलेर पीसीआर मेसिन खरिद गर्नुुपर्ने स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ। बझाङका ४० हजार भन्दा बढी मान्छेहरु भारत गएको अनुमान गरिएको छ। जसमध्ये २० हजारदेखि २५ हजार मान्छेहरु जिल्ला भित्रनसक्ने अनुमान गरिएको छ। 

यी सबैको परिक्षण गर्ने भरपर्दो विधी भनेको पिसीआर भएकाले यसका लागि जिल्लामा एउटा पीसीआर मेसिन आवश्यक भएको जिल्ला अस्पतालका कार्यलय प्रमुख डा. सन्दिप ओखेडाले बताए। पीसीआर मेसिन उपलब्ध गराउन जिल्लाका सरोकारवालासँग समन्वय र पहल गरिए पनि अहिले नै सम्भव नदेखिएको उनको गुनासो छ।

आरडिटी परीक्षण गर्दा पोजिटिभ देखिनेहरु पनि पीसीआर परीक्षणमा नेगेटिभ देखिने र आरडिटी परीक्षणमा नेगेटिभ देखिएकामा पीसीआर विधिबाट पोजिटिभ देखिने हुँदा यस्तो परीक्षणले क्वारेन्टाइनमा बसेका मान्छेहरुलाई दुविधा हुने गरेको बताइन्छ।

हालसम्म स्वाब परीक्षण गर्ने मेसिन सुदूरपश्चिम प्रदेशको प्रादेशिक प्रयोगशाला कैलालीमा रहेको छ भने प्रदेश सरकारले थप ३ वटा पीसीआर मेसिन खरिद गरी डोटी, बैतडी र धनगढीमा राख्ने तयारी थालेको छ। 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस