सुदूर नेपाललाई विश्वसँग जोड्दै

निजी क्षेत्रले उत्पादन शुरु गर्‍याे, हाइब्रिड मकैको बीउ

२०७७ जेठ २३, ०५:५३ रासस

निजी क्षेत्रबाट हाइब्रिड मकैको बीउ उत्पादनलाई तीव्रता दिइएको छ। गत वर्षबाट नेपालमा व्यावसायिकरूपमा सो जातकोे बीउ उत्पादन थालिएको हो। गत वर्ष दुई स्थानमा बीउ उत्पादन गरिएकामा यस वर्ष छ स्थानमा बीउ उत्पादनका लागि काम भइरहेको छ।

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले विकास गरेको रामपुर हाइब्रिड–१० जातको बीउ ती स्थानमा उत्पादन थालिएको हो। कार्यक्रमका प्रमुख केशवबाबु कोइरालाका अनुसार यस वर्ष झापाको महारानी झोडा कृषि सहकारीले दुई दशमलव पाँच हेक्टरमा मकैको बीउ उत्पादन गर्दैछ। त्यहाँ सात टन उत्पादन हुने अपेक्षा गरिएको छ।

गोरखा सिड्स कम्पनी दाङले चितवनको दिव्यनगरमा तीन हेक्टरमा बीउ उत्पादन गर्दैछ। त्यहाँ छदेखि आठ टन उत्पादन हुने अपेक्षा छ। लुम्बिनी सिड्स कम्पनीले भैरहवामा आठ हेक्टरमा बीउ उत्पादन गर्दैछ।

१० देखि १५ टन उत्पादन हुने अपेक्षा गरिएको उनले बताए। धनगढीको युनिक सिड्स कम्पनीले दुई हेक्टरमा मकैको बीउ उत्पादन गरिरहेको छ। जहाँ पाँचदेखि छ टन उत्पादन हुने लक्ष्य लिइएको छ। धनगढीकै पञ्चशक्ति सिड्स कम्पनीले एक हेक्टरमा दुई दशमलव पाँच टन मकैको बीउ उत्पादन गर्ने लक्ष्य राखेको छ।

बाँकेको गेट नेपालले एक हेक्टरमा बीउ उत्पादन गर्न लागेको भए पनि असफल भएको कोइरालाले बताए। गत वर्ष झापाको महारानी झोडा कृषि सहकारीले दुई दशमलव दुई टन र लुम्बिनी सिड्स कम्पनीले दुई दशमलव पाँच टन बीउ उत्पादन गरेका थिए।  

नेपालमा नौ लाख ५४ हजार हेक्टरमा मकै लगाउने गरिन्छ। एक हेक्टरमा २० किलो बीउ आवश्यक पर्दछ। कोइरालाका अनुसार १० देखि १५ प्रतिशत जमिनमा हाइब्रिड मकै लगाउने गरिन्छ। सालाखाला चारदेखि पाँच टन प्रतिहेक्टर उत्पादन हुने गर्दछ। 

बारा, पर्सा जिल्लामा छदेखि सात टनसम्म उत्पादन हुने गरेको कोइरालाको भनाइ छ। राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले हालसम्म सात हाइब्रिड जातका मकैको विकास गरेको छ। जसमध्ये पाँच सिफारिस भएका छन् भने दुई सूचीकृत भइसकेका छन्। उनका अनुसार सूचीकृत भएका जातमा रामपुर हाइब्रिड–१० र रामपुर हाइब्रिड–८ हुन्। गौरव, रामपुर हाइब्रिड–२, रामपुर हाइब्रिड–४, रामपुर हाइब्रिड–६ र खुमल हाइब्रिड–२ सिफारिस भएका जात हुन्।  

हाइब्रिड विकास गर्न आठदेखि १० वर्ष समय लाग्ने गर्दछ। रामपुरले हाइब्रिडसँगै विभिन्न ३७ जातका मकै विकास गरिसकेको छ। हावापानीका हिसाबले तराई, मध्यपहाड, उच्च पहाडी, रङका हिसाबले सेतो, पहेँलो र खुला सेचित जातका मकैका बीउ उत्पादन गरेको उनले बताए।

निजी क्षेत्रलाई हाइब्रिड बीउ उत्पादन गर्न रामपुरले स्रोत बीउ र प्राविधिक सहयोग गर्दै आएको छ। कोइरालाका अनुसार एक हेक्टरमा १६  किलो पोथी लाइनको र चार किलो भाले लाइनको बीउ दिइएको हो। अहिले बीउ मकै थन्क्याउने समय भए पनि लकडाउनका कारण आफूहरु बीउ लगाएका ठाउँमा पुग्न नसकेको उनले बताए।

विसं २०२९ देखि रामपुरमा मकैको अनुसन्धान थालिएको हो। बीउ व्यवसायी सङ्घका पूर्वअध्यक्ष मित्रराज दवाडीका अनुसार नेपालमा वर्षमा दुई हजार मेट्रिक टन मकैको हाइब्रिड बीउ आयात हुने गरेको छ। प्रतिकिलो रु ४५० देखि ६०० सम्ममा बीउ आउने गरेको उनको भनाइ छ। स्वदेशमै उत्पादन गर्न सकेमा बाहिर जाने ठूलो रकम यही बस्ने उनले बताए।

प्रमुख कोइरालाले आयातित मकैको बीउमा कहिलेकाहीँ समस्या आएको भन्दै सरकारले रु २३ करोडसम्म राहत दिएको उदाहरण दिए। नेपालमा नै सरकारले लगानी गरेर हाइब्रिड बीउ उत्पादन वढाउन सके रकम बाहिर नजाने र उत्पादन वढाउन सकिने उनको भनाइ छ। उनले भने, “अर्काको भर पर्दा समस्या पर्ने गरेको छ। यही बीउ उत्पादनका लागि सरकारले सहयोग गर्नुपर्छ।” 
 

कमेन्ट लोड गर्नुस