सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कोरोना अस्पताल : ५० शैयाको इस्टिमेट, ४० शैया मात्रै अटायो

२०७७ जेठ २१, ०४:५७ नवराज पनेरु

धनगढी : ठेक्कामै विवादित बनेको धनगढीको कोरोना अस्पताल इस्टिमेट अनुसार निर्माण नभएको खुलेको छ। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले बजेट दिएपछि स्वास्थ्य कार्यालय कैलालीले निर्माण गरेको कोरोना अस्पताल इस्टिमेट अनुसार निर्माण नभएको खुलेको हो।

डिजायन र इस्टिमेटमा ५० शैयाको अस्पताल भनिएकोमा अहिले आएर ४० वटा शैया मात्रै अटाएका छन्। सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले अस्पतालमा ४० शैया मात्रै अटाएको स्वीकार गरे।

‘५० शैयाको अस्पताल भनिएको थियो। तर अहिले सामाजिक दूरी कायम गर्दै शैया व्यवस्थापन गर्दा ४० शैया मात्रै अटाउने देखियो।’ अस्पतालका मेसु डाक्टर पाण्डेयले दिनेश खवरलाई भने। 

यता स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालवहादुर धामीलले भने ५० शैयाकै अस्पताल निर्माण गरेको दावी गरे। डिजायन र इस्टिमेटमा पनि ५० शैया नै उल्लेख भएको बताउँदै कार्यालयका निमित्त प्रमुख धामीले भने, ‘सामाजिक विकास मन्त्रालयले नै डिजायन र इस्टिमेट बनाएर दिएको हो। सोही अनुसार हामीले निर्माण मात्रै गरेका हौँ। त्यस्मा कति शैया अटायो, त्यस बारेमा जानकारी छैन्।’ 

यसअघि अस्पतालको ठेक्का सम्झौतामै मिलोमतो भएको गुनासो आएको थियो। धनगढी र महेन्द्रनगरमा आईसोलेसन भवन निर्माणका लागि सामाजिक विकास मन्त्रालय मातहतकै शिक्षा समन्वय इकाई कैलालीमा कार्यरत ईन्जिनियर दिनेश बोहराले डिजायन र इस्टिमेट बनाएका थिए।

उनले स्टिमेट बनाईसकेपछि स्वास्थ्य कार्यालय कैलालीले चैत १७ गते ठेक्का आह्वान गर्दै तीन दिनको समय दिएको थियो। तीन दिनमा चार वटा निर्माण कम्पनीले टेण्डर पेश गर्न निवेदन लगे। तर त्यो बीचमा अन्य कम्पनीलाई टेण्डर नहाल्न इन्जिनियर बोहराले धम्की नै दिन थाले।

इन्जिनियर बोहराले अन्य निर्माण व्यवसायीलाई ठेक्का हाल्न नदिएपछि उनका बुवा लक्ष्मण वहादुर बोहरा सञ्चालक रहेको किनारा कन्ट्रक्सनले टेण्डर हालेका थिए। स्वास्थ्य कार्यालयले पनि उनको टेण्डर स्वीकृत गर्दै सम्झौता गरिदिएको थियो।

लागत अनुमान गरिएकै रकममा अर्थात ९४ लाख ६ हजारमा ठेक्का सम्झौता गरिएको थियो। तर बुवा सञ्चालक रहेको थाहा पाएपछि विवाद हुने भन्दै फिल्डमा काम गर्ने अधिकार भने धनगढीकै रोहित रानालाई दिईएको थियो। 

इस्टिमेटमा नक्साको डाईमेन्सन, कति फिट जग हाल्ने, उचाई कति हुने, कस्तो सामान प्रयोग गर्ने केही पनि उल्लेख नभएकाले निर्माणमा बदमासी भएको आशंका गरिएको छ।

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस