सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ७ दिनमा ५६ संक्रमित थपिए, आईसोलेसनमा एउटा शैया पनि थपिएन

२०७७ जेठ २१, १०:०५ नवराज पनेरु

धनगढी : सेती प्रादेशिक अस्पतालले २४ शैयाको आईसोलेसन वार्ड भरिभराउ भएपछि मंगलवार राति ५ जना संक्रमितलाई फिर्ता पठायो। गौरीगंगा नगरपालिकाका ५ जना संक्रमित मध्ये दुई जनाको स्वास्थ्य अवस्थामा केही समस्या पनि थियो। अहिले उनीहरुलाई एउटा मन्दिरको हलमा राखिएको छ।

सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा २४ शैयाको आइसोलेसन रहेकोमा अहिले २५ संक्रमितलाई राखिएको छ। सेती अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले भने, ‘हामीले प्रदेश सरकारको समन्वयमा २४ शैयाको आईसोलेसन वार्ड बनाएका थियौ। आईसोलेसन वार्ड भरिएको छ। तत्काल थप संक्रमितलाई व्यवस्थापन गर्न सकिने अवस्था छैन्।’

उनले सेती अस्पतालकै मातहतमा रहने गरी निर्माण गरिएको ५० शैयाको आईसोलेसन भवन भने सञ्चालन ल्याउन बाँकी रहेको बताए। ‘हामीलाई अस्पताल भवन मात्रै हस्तान्तरण भएको हो। उपकरण लगायत अन्य बिभिन्न सामाग्री जडान हुन सकेको छैन,’ मेसु पाण्डेयले भने, ‘त्यो काम सकिएपछि सेवा सुचारु गर्छौं।’

जानकी गाउँपालिकाका संक्रमितले भरिभराउ भएको टीकापुर अस्पतालको आईसोलेन वार्डमा मंगलवार राति केही शैया थप गरिएको छ। टीकापुरमै चार जनामा संक्रमण पुष्टि भएपछि उनीहरुको जेनतेन व्यवस्थापन गरिएको टीकापुर अस्पतालले जनाएको छ।

पुनरवास नगरपालिकाका संक्रमितलाई लगेपछि आज महाकाली अस्पतालको आईसोलेस वार्ड पनि भरिभराउ हुनेछ। सुदूरपश्चिममा मंगलवार रातिसम्म सात सय बढिको नमुना परीक्षण बााकी छ। नयाँ संक्रमित फेला परे कहाँ राख्ने भन्ने विषयमा न स्थानीय सरकारले तयारी थालेका छन् न त प्रदेश सरकारले नै। 

सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका एक सय ८० शैयाका १६ वटा आइसोलेसन वार्ड मात्रै तयार गरिएको छ। पछिल्लो एक सातायता एउटा समेत शैया थप नभएको मंगलवार साँझ स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङकमा उल्लेख छ।

 एक साता अघि सार्वजनिक गरिएको तथ्याङकमा पनि एक सय ८० नै शैयाको आईसोलेसन उपलव्ध रहेको उल्लेख थियो भने मंगलवार सार्वजनिक तथ्याङकमा पनि एक सय ८० नै आईसोलेसन शैया रहेको भनिएको छ।

 पछिल्लो एक सातामै सुदूरपश्चिममा ५६ जना संक्रमित थपिएका छन् तर संक्रमितको उपचारका लागि आवश्यक आईसोलेसन वार्डको समेत व्यवस्था नभएको हो। 

पूर्व तयारी नगरेको प्रदेश सरकारले संक्रमित बढ्दै गएपछि मंगलवार मात्रै प्रदेशका सबै स्थानीय तहमा ५० शैयाको आईसोलेसन तयारी अवस्थामा राख्न आग्रह गरेको छ। स्वास्थ्य निर्देशनालयका डोटीले सबै पालिकाहरुलाई पत्राचार गर्दै कम्तीमा ५० शैयाको आईसोलेसन तयारी अवस्थामा राख्न अनुरोध गरेको हो।

‘आरडिटी र पीसीआर पोजेटिभ भएकालाई व्यवस्थापन गर्न कम्तीमा पनि ५० शैयाको आईसोलेसन तयारी अवस्थामा राख्न अनुरोध गर्दछौ,’ स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले स्थानीय तहलाई पत्राचार गर्दै भनेका छन्, ‘अहिले सुदूरपश्चिममा  देखिएका कोरोना संक्रमित लक्षणविहन अवस्थाका भएकाले उनीहरुको स्थानीय स्तरमै उपचार तथा व्यवस्थापन गर्न सकिन्छ। त्यस्ता विरामीको उपचार स्थानीय स्तरमा भएका स्वास्थ्यकर्मी र नर्सिङ कर्मचारीले गर्न सक्नेछन्।’

पर्याप्त आईसोलेसन वार्ड बनाउन नसकिएको कोरोनाका जटिल बिरामी फेला परे उपचारका लागि सुदूरपश्चिममा भेन्टिलेटर र आईसीयुको समेत अभाव रहेको छ। सुदूरपश्चिम प्रदेशमा हाल १४ शैयाको आईसीयू वार्ड र ८ वटा भेन्टिलेटर रहेको छ।
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस