सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्रम्पको चेतावनी : आन्दोलन दबाउन सेना परिचालन गछौँ

२०७७ जेठ २०, १२:३९ खबर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुलुकमा अहिले चलिरहेको आन्दोलन नरोकिए सेना परिचालन गर्ने चेतावनी दिएका छन्। ट्रम्पले अमेरिकी सहर र राज्यहरुले आन्दोलन नियन्त्रणमा लिन नसकेको खण्डमा आफूले सेना परिचालन गरेर छिटै नै समस्या समाधान गरिदिने बताएका हुन्।

अमेरिकाको मिनोपोलिसमा ४६ वर्षीय एक अश्वेत नागरिक प्रहरी अधिकारीबाट मारिएपछि अमेरिकामा यो आन्दोलन सुरु भएको हो। ट्रम्पले उक्त घटनामा जर्ज फ्लोयड मारिएको घटनाको निन्दा गरेका छन्। तर, यो घटनाबाट आक्रोशित भिडले लुटपाट र हिंसा मच्चाउनु भने सही नभएको बताएका छन्।

यो आन्दोलनको कारण अमेरिकाका दर्जनौं मुख्य सहरहरुमा कर्फ्यु  घोषणा गरिएको छ। सोमबार ह्वाइट हाउसमा ट्रम्पले बोल्दै गर्दा नजिकैको पार्कमा भने प्रहरीले आन्दोलनकारीलाई हटाउन अश्रुग्याँस र रबरको गोली प्रहार गरिरहेका थिए।

मे २५ मा घटेको उक्त घटनापछि सुरु भएको आन्दोलन दिनानुदिन बढ्दो क्रममा छ। उक्त घटनामा मृत्यु भएका जर्ज फ्लोयडको घाँटीमा घुँडाले थिच्ने प्रहरी अधिकारी डेरेक चौविनलाई हत्याको आरोपमा मुद्दा दायर गरिएको छ भने घटनास्थलमा देखिएका अन्य प्रहरी पनि निलम्बनमा परेका छन्।

उनले हजारौं सशस्त्र सेना, र कानून प्रवर्तन अधिकारइीहरुलाई अहिले भइरहेको दंगा, लुटपाट, आक्रमण र सम्पत्तिको विनाश रोक्नका लागि पठाउने बताएका छन्। बीबीसी

कमेन्ट लोड गर्नुस