पर्म तिर्दै कृषक
प्युठान : यहाँका किसान पर्म प्रथाबाट रोपाइँ गर्न व्यस्त छन्। झिमरुक फाँटका गरामा बाली (रोपाइँ गीत) गाउँदै पर्मप्रथा अहिले पनि लोप भएको छैन्। रोपारे, बाउसे र हलिसहितको भूमिकामा रहेर आआफ्ना क्षेत्रबाट प्रत्येक घरधुरीको रोपाइँमा यहाँका कृषक पर्म तिर्न व्यस्त भएका छन्।
सयौँ वर्ष पुरानो पर्मको परम्परानुसार प्युठान नगरपालिका– ८ दम्तीदेखि प्युठान नगरपालिका –१ दाखाक्वाडीसम्म फैलिएको झिमरुक फाँटमा रोपाइँ शुरु गरिएको छ। नगरपालिकाका विजुवार, विजयनगर, खैरा, मरन्ठाना, धर्मावती, बिजुवार र मल्लरानी गाउँपालिकाको खलंगाका मोहीको खेतमा मोही र अधियाँमा खेती गरिँदै आएको छ।
प्युठान –७ लिपिकोटकी खिमा सुनारको २५ जना पर्म छन्। पाँच हल गोरु, पाँच बाउसे र १५ रोपार खेतमा धान रोप्न व्यस्त छन्। उहाँको खेतमा आएका एक एक जनाको घरघरमा पुग्दा पनि उहाँलाई एक महिना लाग्ने बताउनुहुन्छ।
मल्लरानी गाउँपालिकाका मोहीको २० वर्षअघिदेखि अधियाँमा लगाउन शुरु गर्नुभएका सुनारले यस वर्ष रु एक लाख २० हजारको लिजमा लिई पर्ममै रोपाइँ गगरे। ‘मेरोमा आएका सबैको रोपाइँमा पर्म तिर्न जानुपर्छ ’ सुनारले भन्नुभयो, ‘पर्म तिर्दा पच्चीस दिन जान्छ, म आफैँ पर्ममा हिँड्न थालेको २० वर्ष भयो।’
सुनारले पाँच रोपनीमा धानबाली लगाउँदै आउनुभएको छ। आफ्नो खेत नभएका कारण उनले वर्षैंदेखि अधियाँमा खेतीपाती गर्दै आएका थिए। गाउँका कृषकले परम्परादेखि नै धान रोप्नेदेखि भित्र्याउँदासम्म पर्ममै काम गर्ने सुनारको भनाइ छ। झिमरुक फाँटमा प्रायः अधियाँमा खेतिपाती गरिन्छ।
गाउँका गरीब तथा भूमि कम भएका परिवारले जग्गा बन्धकी खाएर र अधियाँमा लिएर धान रोप्ने गर्छन्। प्युठान–४ खमाल्दी गाउँका ३५ घरभन्दा बढी परिवारले पर्ममै खेतीपाती गर्दै आएको कमलसिंह सुनारले जानकारी दिए। उनले छ रोपनीमा पाँच वर्ष अघिदेखि धान लगाउँदै आउनुभएकामा शुरुदेखि नै पर्ममा रोपाइँ गर्दै आएका छन्।
खमाल्दीकी रुकी नेपालीको पर्म पनि २५ दिनको छ। गत वर्ष वैशाख २० देखि जेठ १५ गते उहाँको पर्मको काम सकिएको थियो। यस वर्ष यही जेठ १२ गतेदेखि बल्ल पर्म शुरु भएको नेपाली बताउनुहुन्छ। ‘बन्दाबन्दीका कारण रोपाइँ पछि धकेलियो’, नेपालीले भने।
यस वर्ष असारको पहिलो हप्तासम्म पर्म सकिने उनलेको भनाइ छ। जिल्लाका माण्डवी, स्वर्गद्वारी, मल्लरानी, नौबहिनीलगायत पालिकामा रहेका खेतमा समेत रोपाइँ चलिरहेको छ। वैशाख तेस्रो हप्तादेखि नै धान रोपाइँ शुरु हुने भए पनि बन्दाबन्दीले बीउ र कुलो खन्न नपाउनाले समयमै धानको बीउ राख्न नपाएको कृषक बताउँछन्।
अन्य ठाउँमा पनि ज्यालादारी र पर्ममा धान रोपाइँ गर्ने गरिएको स्थानीयवासीको भनाइ छ। जिल्लामा बढी मात्रामा धान खेती हुुने झिमरुक फाँटमा १५ प्रतिशत मात्रै रोपाइँ भएको प्युठान नगरपालिकाका कृषि शाखा प्रमुख मेघराज पोख्रेलले बताए।
‘गत वर्ष ६५ प्रतिशत रोपाइँ सकिएको थियो’, पोख्रेलले भने, ‘बन्दाबन्दीले यस वर्षको रोपाइँ ढिलाइ हुने भए पनि एक हप्तासम्म ६० प्रतिशत रोपाइँ हुने अनुमान छ।’ जिल्लाभर २२ हजार हेक्टर खेतीयोग्य भूमि रहेकामा ६ हजार ५५ हेक्टर जग्गामा धान खेती गरिन्छ।