धनगढीमा तीन वर्षीय बालकमा स्क्रबटाइफस देखियो
धनगढीः धनगढीमा तीन वर्षीय एक बालकमा स्क्रबटाइफस भएको पुष्टि भएको छ।
धनगढी-५ तारानगरका ती बालकका स्क्रबटाइफस संक्रमण भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ। संक्रमित बालकको धनगढीको एक निजी अस्पतालमा उपचार भइरहेको तथा अवस्था खतरामुक्त रहेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताए।
चैत १२ गते आमासँगै गाउँ गएका बालकलाई धनगढी फर्केपछि उच्च ज्वरो आएपछि अस्पताल लगिएको थियो। अस्पतालमा परीक्षण गर्दा स्क्रबटाइफस भएको पुष्टि भएको र त्यसपछि भर्ना गरेर उपचार भइरहेको बालककी आमाले दिनेशखबरलाई जानकारी दिइन्। उनले अहिले बालकको अवस्था सामान्य रहेको बताएकी छन्।
मुसामा हुने उपियाँले टोकेमा स्क्रबटाइफस हुने गरेको वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए। उनले मुसाको शरीरमा हुने उपियाँले टोकेको ७-१० दिनभित्र स्क्रबटाइफस संक्रमण देखापर्ने बताए। उपियाँले टोकेको शरीरको भागमा कालो दाग देखापर्ने र उच्च ज्वरो आउने लक्षण देखापर्ने कुँवरले बताए।
उनले स्क्रबटाइफस भएको समयमै पत्ता लागे सजिलै उपचार गर्न सकिने तर उच्च ज्वरो आउँदा पनि उपचारका हेलचक्र्याइ गरेमा बिरामीको ज्यानसमेत जाने जोखिम हुने बताए। 'स्क्रबटाइफस देखा परेमा समयमै उपचार भयो भने बिरामी निको हुन्छन् तर उपचार र परीक्षणमा ढिलो भयो भने बिरामीको ज्यानसमेत जाने जोखिम हुन्छ,' उनले भने, 'ज्वरो आउँदा समयमै स्वास्थ्य परीक्षण गर्यो भने स्क्रबटाइफस हो भन्ने पत्ता लाग्ने र उपचार सम्भव हुन्छ।'
पछिल्ला केही वर्षयता कैलालीसहित सुदूरपश्चिमका सबै जिल्लामा स्क्रबटाइफसको संक्रमण बढ्दो छ। घर, खेत तथा जङ्गलमा हुने मुसाको शरीरमा रहेको उपियाँको टोकाइका कारण ग्रामीण क्षेत्रमा स्क्रबटाइफसको संक्रमण बढ्दो छ।