सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका कोरोना संक्रमित भन्छन्- ‘मुम्बईमा त सुरक्षित नै थिएँ, बाटोमै सर्‍यो कि?’

२०७७ जेठ १८, ०५:२३ नवराज पनेरु

धनगढी : दुई छोरा, श्रीमती र आफु। परिवारमा चार जना मात्रै थिए। तर पनि स्वदेशमै बसेर छाक टार्न समस्या हुने भएपछि दुई बर्ष अगाडि भारत पसे। मुम्बईमा प्रिन्टिङ प्रेसमा काम पाईयो। काम राम्रै चलिरहेको थियो।

एकाएक कोरोना भाईरसको त्रास फैलियो। तर पनि बैंकमा आवश्यक कागजात प्रिन्ट गर्ने प्रेसमा काम गर्ने भएकाले पनि होला मेरो काम चलेकै थियो। कोरोना बारेको एप्स मोवाइलमा भएकाले समय–समयमा म चेक गरिरहन्थे।

मलाई सम्झना छ, मुम्बैमा रहँदा म भन्दा डेढ किलोमिटरको दुरीमा मात्रै कोरोना संक्रमित थिए। एप्सले नै देखाएको थियो। 

भारतमा लकडाउनको २८ दिन पुगेपछि पहिलो पटक घर फर्किने सोच बनाए। कोरोना भाईरस तत्काल सकिने जस्तो लागेन्। लकडाउनमै त्रिनगर नाका सम्म पुग्न भने निकै समस्या थियो।

डोटीको केआईसिंग गाउँपालिका, शिखर नगरपालिका र कञ्चनपुरको पुर्नवास नगरपालिकाका १७ जनासंगै स्वदेश फर्किने योजना बन्यो। एउटा गाडी बुक ग¥यौ। 

लकडाउन जारी नै भएकोले पनि होला बाटोमा धेरै समस्या झेल्नु प¥यो। गौरीफन्टा सम्म पुगेपछि जन्मभूमीको ढोका खुल्क कि खुल्दैन भन्ने प्रश्न पनि मनमा थियो। तमाम समस्याका बाबजुत पलियासम्म सुरक्षित भएर पुगेको थिए। 

पलियाबाट गौरीफन्टा पुग्दा भने निकै समस्या भयो। ठूलो भिडमा सामेल हुनप¥यो। ठ्याक्कै सम्झना त छैन् तर पनि ३ गतेको कुरा हुनुपर्छ, गौरीफन्टा नाकामा दिनभरी नै कुरे। सामन्य ज्वरो परीक्षणपछि स्वदेश प्रवेशको अनुमती पाईयो।

मसंगै रहेका सयौँ नेपालीलाई नवदुर्गा माविको क्वारेन्टिनमा राखियो। त्यो रात न सामाजिक दूरी कायम गर्न सकियो न त ढुक्क भएर खाना र सुत्न नै पाईयो। 

एक रात नवदुर्गा माविको क्वारेन्टिनमा बसेपछि दोस्रो दिन त्रिनगर माविको क्वारेन्टिनमा राखियो। क्वारेन्टिनमा बसेको चार दिनपछि ११ गते ¥यापिड टेस्ट गरियो।

स्वास्थ्यकर्मीले आरडिटी पोजेटिभ भएको जानकारी दिए। त्यसपछि कोरोना परक्षिणका लागि स्वाब संकलन भयो। तर ५, ६ दिनसम्म पनि रिपोर्ट नआएपछि त्रुटी भएको भन्दै शनिवार फेरी स्वाब संकलनका लागि सेती अस्पताल लगियो।

आज दिउसो मात्रै कोरोना पोजेटिभ देखाएको भन्दै मलाई सेती अस्पतालको आईसोलेसनमा राखिएको छ। भारतमा रहँदा सुरक्षित बसे जस्तो लाग्छ। फर्किदा भने आफुलाई सुरक्षित राख्न सकेन्। सामाजिक दूरी कायम गर्न पनि सकिएन्।

त्यसैले बाटामै संक्रमण भयो कि भन्ने लागिरहेको छ। हुन त मलाई कुनै स्वास्थ्य समस्या छैन्। कुनै लक्षण पनि देखाएको छैन्। त्यसैले छिट्टै कोरोना विरुद्धको लडाइमा सफलता हासिल गर्छु भन्ने विश्वास छ।

(आईतवार मात्रै कोरोना पुष्टि भएका धनगढी–३ का ४७ बर्षीय पुरुषसंग गरिएको कुराकानीमा आधारित)

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस