सुदूर नेपाललाई विश्वसँग जोड्दै

६५ जनासंगै त्रिनगर क्वारेन्टिनमा थिए धनगढीका संक्रमित

२०७७ जेठ १८, ०४:०६ खबर संवाददाता

धनगढी : धनगढीमा आज थप एक जनामा कोरोना पुष्टि भएको छ। उप–महानगरपालिकाको वडा नम्वर ३ का ३७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले संक्रमित पुरुषलाई सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएको जानकारी दिए। उनलाई धनगढी मुख्य बजारमा रहेको त्रिनगर माविको क्वारेन्टिनबाट अस्पतालमा लगिएको श्रेष्ठले बताए। 

धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीका अनुसार संक्रमित पुरुषसंगै त्रिनगरको क्वारेन्टिनमा ६५ जनालाई राखिएको थियो। ‘उनीहरुमध्ये १२ जनाको शनिवार थ्रोट स्वाबको नमुना संकलन गरिएको थियो। सोही नमुनामा एक जनाको रिपोर्ट पोजेटिभ देखाएको हो।’ प्रवक्ता मुडभरीले दिनेश खवरलाई भने। 

धनगढीमा क्वारेन्टिन व्यवस्थापनको जिम्मा पाएका धनगढी उप–महानगरपालिका वडा नम्वर ८ का अध्यक्ष नारायण बरालले संक्रमित पुरुष भारतबाट ७ गते धनगढी भित्रिएको जानकारी दिए। उनका अनुसार पहिलो पटक गरीएको परीक्षणमा त्रुटी देखिएपछि आज दोस्रो पटक परीक्षण गरिएको हो। 

योसंगै धनगढी उप–महानगरपालिकामा संक्रमितको सङख्या तीन पुगेको छ। यसअघि धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुष र उनकी ३४ बर्षीय भाउजुमा कोरोना पुष्टि भएको थियो। उनीहरु दुबै जना कोरोनालाई जितेर घर फर्किसको छन्।

कमेन्ट लोड गर्नुस