सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मापदण्ड मिचेर स्थापना गरिएका क्वारेन्टाईनले झनै जोखिम बढ्यो

२०७७ जेठ १८, १२:०६ रोशन भट्ट

धनगढी : कोरोना भाईरसको जोखिमयुक्त क्षेत्रबाट फर्किएकाहरुलाई १४ दिन सम्म अनिवार्य रुपमा क्वारेन्टाईनमा राख्न संघीय सरकारले छुट्टै मापदण्ड तयार गरी प्रदेश र स्थानीय सरकारलाई समेत कार्यान्वयन गर्न निर्देशन दिएको छ।

उक्त मापदण्ड अनुसार क्वारेन्टाईनमा स्वास्थ्य, सञ्चार, खानेपानी, विद्युतको पू्र्ण व्यवस्था हुनुपर्ने, सम्भव भए सम्म एक सयभन्दा बढी व्यक्ति राख्ने क्षमताको हुनुपर्ने, प्रती एक सय जनाको लागि एक जना चिकित्सक सहित ८ जनाको स्वास्थ्यकर्मीको टिम परिचालन गर्नुपर्ने हो।

तर धनगढीका विभिन्न वडाहरुमा क्वारेन्टाईन स्थापना गर्दा उक्त मापदण्डको पालना नगरिएको वडा नम्बर ९ को क्वारेन्टाईनमा रहेका दीपक मल्लले बताए। ‘क्वरेन्टाईनमा रहेकाहरुलाई स्थानीय सरकारबाट कुनै सहयोग मिलेको छैन्’, उनले भने, ‘हाम्रो सहजताको लागि सरकारसँग कुनै योजना छ की छैन्’? धनगढी उप–महानगरपालिकाको वडा नम्बर ९ मा दुई क्वारेन्टाईन स्थापना गरिएको छ।

सरस्वती प्राथमिक विद्यालय र भवानी माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाईनमा बसेकाहरुले स्थानीय सरकारबाट कुनै पनि सहयोग नपाएको गुनासो गरेका छन्। नजिक घर भएका कारण उनीहरु सबैको खाना घरबाटै आउने गरेको भएपनि विद्यालय कोठा भित्र बस्नको लागि आवश्यक पर्ने लुगा कपडा समेत उपलब्ध नभएको बताईएको छ।

कुनै कोठामा बत्ती र पंखाको व्यवस्था भएपनि सबैमा भएको छैन्। कोठा अभाव भएका कारण समाजिक दुरी पनि कायम गरिएको छैन्। नियमित स्वास्थ्य परीक्षण संगै क्वारेन्टाईन स्थलमा एम्बुलेन्स राख्नुपर्ने भएपनि त्यसमा समेत वेवास्ता गरिएको छ भने सेनिटाईजर, मास्क लगायतका समाग्रीको पनि अभाव हुने गरेको क्वारेन्टाईनमै रहेका गणेश पार्कीले बताए।

‘सेनिटाईज त गरिदिनु भनेर पटक–पटक भने तर कसैले वास्ता गरेनन्।’ उनले भने, ‘खानाको व्यवस्था नहुँदा घरबाट मगाउँछु यसले गर्दा घरकाहरुलाई पनि जोखिम छ।’ उता उप–महानगरपालिकाकै वडा नम्बर १२ मा रहेको शारदा मावीमा स्थापना गरिएको क्वारेन्टाईनको अवस्था पनि उस्तै छ।

भारतबाट फर्किएकाहरुलाई क्वारेन्टाईनमा राखिएको भएपनि उनीहरुलाई आवश्यक पर्ने समाग्री सहयोगमा स्थानीय सरकार उदासिन बनेको आरोप लागेको छ। बरु स्थानीय युवा क्लबले भने सहयोग गरिरहेको क्वारेन्टाईनमा बसेकाहरुले जनाएका छन्।

‘बस्नका लागि विद्यालय भवन बाहेक अन्य कुनै पनि सहयोग मिलेको छैन्।’ शारदा मावीको क्वारेन्टाईनमा रहेका एक जनाले भने, ‘स्वास्थ्यकर्मी र अन्य सरोकारवाला निकाय अवस्था बुझ्न पनि आएका छैनन्।’

क्वारेन्टाईनमा रहेकाहरुको स्वास्थ्य परीक्षण, खानपान तथा बस्नको उचित व्यवस्था, आवश्यक स्वास्थ्य समाग्री मास्क, सेनिटाईजरको उपलब्धता, समाजिक दुरी कायम र नियमित निगरानीको अभावका कारण क्वारेन्टाईनबाटै संक्रमण फैलिने खतरा बढेको छ।

तर मापदण्ड अनुसार नै व्यवस्थापना गरेको क्वारेन्टाइन व्यवस्थापनका संयोजक तथा धनगढी उप–महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले दावी गरेका छन्। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस