सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजेट परिणाममुखीभन्दा प्रचारमुखी : काँग्रेस

२०७७ जेठ १६, ०९:२९

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपाल सरकारद्वारा आर्थिक वर्ष २०७७÷७८ को लागि प्रस्तुत बजेट परिणाममुखीभन्दा प्रचारमुखी रहेको भनी टिप्पणी गरेको छ। बजेटमा जनतालाई आश्वासन दिने तर कार्यान्वयन नहुने खालका कार्यक्रमलाई जोड दिइएको काँग्रेसको भनाइ छ। काँग्रेस संसदीय दलको आज बसेको बैठकले लकडाउनका कारण सम्पूर्ण उद्योग, कलकारखाना, पर्यटन, शैक्षिक संस्था, बैंक वित्तियलगायत क्षेत्र ठप्प भएको अवस्थामा पनि मुलुकको अर्थतन्त्रलाई माथि उठाउने र तत्काल कार्यान्वयन हुने खालका कार्यक्रमहरुलाई बजेटमा प्राथमिकता नदिएको निष्कर्ष निकालेको छ।

कोरोना भाइरस महामारीको प्रकोपबाट पीडित निजी क्षेत्रका उद्योग व्यवसायका साथै त्यसका कर्मचारी र श्रमिक वर्गहरुलाई सम्बोधन हुने ठोस कार्ययोजनालाई बजेटले सम्बोधन नगरेको काँग्रेसको आरोप लगाएको छ। बैठकले कोरोनाको प्रभावबाट भविष्यमा हुने रोजगारीको सङ्कटलाई सामना गर्न सरकारले उपयुक्त र पर्याप्त रोजगारी सिर्जना गरी आर्थिक क्रियाकलापलाई गतिशील बनाउने योजनालाई बजेटले प्राथमिकतामा नराखेको भनी टिप्पणी गरेको छ।

काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले अहिलेको विषम र असामान्य अवस्थामा पनि सरकारले विगतमा झै सामान्य बजेट ल्याएको बताउँदै राजश्वको सङ्कुचन भइरहेको र भविष्यमा अझै भइरहने अवस्थामा सरकारले ठूलो विदेशी र आन्तरिक ऋणको आधारमा बनाएको बजेट कार्यान्वयन गर्न कठिन हुने बताउनुभयो। काँग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा विज्ञका रुपमा पूर्वअर्थमन्त्री डा रामशरण महत, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डा जगदिशचन्द्र पोखरेल, डा गोविन्दराज पोखरेल र डा स्वर्णीम वाग्ले तथा अर्थविद् डा विश्व पौडेलले बजेटका विविध पक्षको समीक्षा गर्दै कमी, कमजोरी बारेमा जानकारी गराउनुभएको थियो।

बैठकले यही जेठ ९ गते काँग्रेस नेता एवं पूर्वमन्त्री मोहमद अफ्ताब आलमको रौतहटस्थित निवासमा मध्यरातमा ५० भन्दा बढी व्यक्ति हातहतियारसहित गई तोडफोड गरी आङ्तक सिर्जना गरेको भन्दै भत्र्सना गरेको छ। उक्त घटनामा संलग्न व्यक्तिले एम्बुलेन्ससमेत लिएर गएको हुँदा हिंसाको योजनासहित गएको हुनुपर्ने बैठकको ठहर छ। घटनामा संलग्न व्यक्ति को थिए, प्रहरी स्वयं सादा पोशाकमा थिए वा डाका गुण्डाहरु थिए भन्ने हालसम्म प्रहरी प्रशासनले बताउन नसकेको काँग्रेसले जनाएको छ।

उक्त घटनाको तत्काल छानविन गरी दोषी उपर कारवाहीका लागि सरकार तथा सम्बन्धित निकायसँग बैठकले माग गरेको प्रमुख सचेतक खाँणले बताउनुभयो। यसैगरी गत जेठ १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोतीमा पाँच जनाको मृत्यु, एक जना हालसम्म पनि वेपत्ता र पाँच जना गम्भीर घाइते हुने गरी भएको हिंसात्मक घटनाप्रति बैठकले दुःख व्यक्त गरेको छ।

घटनाको काँग्रेसले निन्दा एवं भत्र्सना गर्दै उक्त घटनाको सत्यतथ्य एवं न्यायपूर्ण छानबिन गर्न सरकारसँग माग गरेको छ। बेैठकले उक्त घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घटनामा घाइते हुने सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।–रासस
 

कमेन्ट लोड गर्नुस