धनगढी प्रयोगशालामा २४ घण्टामा २२३ जनाको कोरोना परीक्षण
धनगढी : धनगढी प्रयोगशाला मार्फत पछिल्लो २४ घण्टामा दुई सय २३ जनाको कोरोना परीक्षण गरिएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई सय २३ जनाको कोरोना परीक्षण गरिएकोमा तीन जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको छ। कैलालीका दुई र दार्चुलाका एक जनाको पोजेटिभ आएको हो। थ्रोट स्वाबको नमुना संकलन गरीएका तीन सय ८३ जनाको नमुना परीक्षण गर्न बाँकी छ। यस्तै सुदूरपश्चिम प्रदेशभरी पछिल्लो २४ घण्टामा दुई सय २१ जनाको र्यापिड टेस्ट गरिएको छ। र्यापिड टेस्ट गर्दा आज थप ५ जनामा एन्टिबडी देखाएको छ।
यस्तै सुदूरपश्चिम प्रदेशभरी अहिलेसम्म पाँच हजार एक सय ६६ जनाको कोरोना परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। दुई हजार ८ सय ४६ जनाको धनगढीस्थित प्रयोगशाला मार्फत परीक्षण गरिएको र दुई हजार तीन सय १६ जनाको काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत परीक्षण गरिएको निर्देशनालयले जानकारी दिएको छ।
निर्देशनालयका अनुसार प्रदेशभरी अहिलेसम्म २१ हजार तीन सय ५६ जनाको र्यापिड टेस्ट गरिएको छ। अहिलेसम्म ८८ जनामा र्यापिड टेस्ट पोजेटिभ देखाएको निर्देशनालयले जनाएको छ। त्यस्मा ६६ जनाको पीसीआर परीक्षण गरिएकोमा बाँकी २२ जनाको पीसीआर मार्फत परीक्षण बाँकी रहेको छ। २२ जनाको भोली परीक्षण गरिने र थ्रोट स्वाबको नमुना संकलन गरिएको निर्देशनालयले जनाएको छ।
सुदूरपश्चिमका विभिन्न अस्पतालमा कोरोना आशंकामा भर्ना भएका एक सय ९७ जना डिस्चार्ज भएका छन्। प्रदेशभरीका १५ वटा अस्पतालबाट अहिलेसम्म एक सय ९७ जना बिरामीलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। उनीहरुलाई कोरोनाको आशंकामा अस्पतालको आईसोलेसमा राखिएको तर पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ।