सुदूर नेपाललाई विश्वसँग जोड्दै

६ कोरोना संक्रमितसँगै गौरीफन्टाबाट आएका २४९२ कहाँ छन् ? (सूचीसहित)

२०७७ जेठ १४, ०२:०९ नवराज पनेरु

धनगढी : जेठ ८ गते भारतबाट धनगढी भित्रिएका छ जनामा कोरोना पुष्टि भईसकेको छ। जेठ १० गते चार, ११ र १३ गते एक÷एक जना गरी छ जनामा कोरोना पुष्टि भएको हो। उनीहरु मध्ये चार जना बैतडीको शिवनाथ गाउँपालिकाका छन् भने दुई जना अछामको मेल्लेखका छन्।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार शनिवार बैतडीको शिवनाथ गाउँपालिका  वडा नम्वर १ र २ का २०, २०, २२ र २७ बर्षीय पुरुषलाई कोरोना पुष्टि भएको थियो भने आईतबार अछामको मेल्लेख गाउँपालिका वडा नम्वर ४ का ३२  वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। मंगलवार अछामका ३२ बर्षीय पुरुषकी ११ बर्षीय छोरीमा पनि कोरोना पुष्टि भईसकेको उनले बताए।  

‘पाँचै जना कोरोना संक्रमित पुरुष र एक बालिका ८ गते गौरीफन्टा नाकाबाट फर्किएका थिए,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘सीमा नाकामा गरीएको परीक्षणमा कोरोनाको लक्षण देखिएपछि उनीहरुलाई ८ गते रातिदेखि नै सेती अस्पतालको आईसोलेनमा राखिएको थियो।’ 

गौरीफन्टा नाकाबाट ६ जना संक्रमितसँगै सोही दिन दुई हजार चार सय ९२ जनाको उद्धार गरिएको थियो भने झण्डै ६ सय जनाको मात्रै ¥यापिड टेस्ट गरिएको थियो। उनीहरु सबैलाई अहिले सम्बन्धि जिल्लामा पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

सोही भीडमा आएका १२ जनामा ¥यापिड टेस्ट पोजेटिभ देखाएको थियो भने अन्य सात जनामा कोरोनाको लक्षण देखिएपछि अस्पतालको आईसोलेसनमा राखिएको थियो। तर ६ जना बाहेक अन्यमा भने कोरोना देखिएको छैन्। 

३९ जिल्लाका दुई हजार चार सय ९८ मा संक्रमित पाँच जना बाहेक सबैलाई अहिले स्थानीय तहको क्वारेन्टाईनमा राखिएको छ। तर परीक्षण हुन सकेको छैन्। सो दिन गौरीफन्टाबाट उद्धार गरिएका नेपाली मध्ये सबैभन्दा बढी बैतडीका ८ सय २९ जना थिए।

यस्तै डोटीका तीन सय ८२, डडेल्धुराका तीन सय ३१, कैलालीका दुई सय ८९, अछामका एक सय ८१ र कञ्चनपुरका एक सय ४५ सहित ३९ जिल्लाका दुई हजार चार सय ९८ जनाको उद्धार गरिएको थियो। उनीहरुलाई अहिले सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राखिएको छ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सीमा क्षेत्रमै परीक्षण नभएपनि क्वारेन्टाइन अवधि सकिएपछि परीक्षण हुने बताए। ‘सीमामै परीक्षण गर्दा ¥यापिड टेस्टमा संक्रमण देखाउने सम्भावना कम हुन्छ। त्यसैले १४ दिने क्वारेन्टाइन अवधि सकिएपछि टेस्ट गर्छाै।’ कार्कीले दिनेश खवरलाई भने।   

 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस