कैलालीको जोशीपुर गाउँपालिकाले राहतमा वितरण गरेको चामलमा भेटियो प्लाष्टिक
जोशीपुर : कैलालीको जोशीपुर गाउँपालिकाले राहतमा वितरण गरेको चामलमा प्लाष्टिक मिसावट गरेको भेटिएको छ। गाउँपालिकाले वडा नम्बर ६ को कार्यालय मार्फत राहतमा वितरण गरेको चामलमा प्लाष्टिक मिसावट गरिएको भेटिएको हो। राहतको चामलमा प्लाष्टिक भेटिएपछि स्थानीयले गाउँपालिकालाई नै फिर्ता गरिदिएका छन्।
स्थानीय दिक्षित कठरियाले चामलमा प्लाष्टिक भेटिएपछि वडा कार्यालयलाई फिर्ता गरेको बताए। उनले गाउँपालिकाले राहत वितरणका नाममा अखाद्य वस्तु मिसावट गरी मानव स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिरहेको आरोप लगाए। कठरियाका अनुसार गाउँपालिकाले राहतमा उपलब्ध गराएको २५ किलोको चामलको कठ्ठामा प्लाष्टिक भेटिएको हो।
यता वडा नम्बर ६ का अध्यक्ष नत्थुप्रसाद डगौराले पनि राहतमा वितरण गरिएका ७ वटा कठ्ठामा प्लाष्टिक मिसावट गरिएको भेटिएको स्वीकार गरे। उनले गाउँपालिकाले आपूर्तिकर्ताबाट खरिद गरेर पठाएपछि वडा कार्यालयले स्थानीयलाई वितरण मात्र गरेको बताए। गाउँपालिका कार्यालयले भने आपुर्तिकर्ताको विवरण लुकाएको छ।
जोशीपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलराज उपाध्याय र सूचना अधिकारी सिद्धराज जोशीले राहतको चामलमा प्लाष्टिक भेटिएको विषयमा खासै प्रतिक्रिया दिन मानेनन्।
प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले गाउँपालिकाले खरिद गरेको नभई विभिन्न सहयोगी संघसंस्थाले दिएको चामलमा मिसावट भेटिएको दावी गरे। उनले आपुर्तिकर्ताको विवरण माग्दा आफूलाई थाहा नभएको र विवरण हेरेर दिने बताए।
तर त्यसपछि पटक–पटक टेलिफोन सम्पर्क गर्दा समेत सम्पर्कमा आएनन्। सूचना अधिकारी जोशीले आफू बैठकमा भएको भन्दै उक्त विषयमा बोल्न मानेनन्।