सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ पुस्ता जुर्मुराउन कहिले ?

२०७७ जेठ १४, ०७:०५

रोहित चन्द

साझा पार्टी, सुदूरपश्चिम प्रदेशले प्रदेशका नौँ वटै जिल्लाका विभिन्न स्थानहरूमा भ्रष्टाचार विरुद्धको सचेतना अभियान गरेको वर्ष दिन पूरा हुँदैछ। उक्त १२ दिने अभियानमा पार्टीका केन्द्रीय संयोजकदेखि स्थानीय नेता कार्यकर्ताको सहभागिता थियो। कार्यक्रमको मुख्य उद्देश्य देशमा व्याप्त भ्रष्टाचार रोक्नु र कुशासन विरुद्ध सचेतना फैलाउनु, देशमा भइरहेका ठूला भ्रष्टाचारको बारेमा आम नागरिकलाई जानकारी गराउनु, ती मुद्धाहरुप्रति सचेत गराउनु र सशक्त प्रतिवाद गर्न प्रेरित गर्नु थियो। 

पार्टीमा आस्था राख्ने साथीहरुको नेतृत्वदायी भूमिका र सक्रिय सहभागिता बिना अभियान सफल हुन सक्दैनथ्यो। त्यसमाथि स्थानीय बासिन्दाहरुले हामीप्रति र अभियान प्रति लिनुभएको चासो हाम्रा लागि प्रेरणादायी थियो। 

अभियानका क्रममा सामाजिक सञ्जालमा मैले राखेका पोस्टहरुले एक वर्ष अघिको सम्झना फेसबुकले अचेल दैनिक गराईरहेको छ। त्यतिबेला लेखिएका अक्षरहरू र तस्विरमा देखिएका अनुहारहरूलाई परिवर्तनको संकेतको रुपमा सबैले जस्तै मैले पनि लिएको थिए। जति ठाउँमा पुगियो अभियानको प्रशंसा र दर्हो साथ मिल्दै थियो। हामीलाई अब नयाँ र यस्तै पार्टी चाहिएको धेरैले बताइरहेका थिए।

आज एक वर्ष पछि फर्केर हेर्दा अभियान त्यतिबेला सफल भएपनि मुख्य उदेश्य प्राप्त गर्न अझै धेरै मेहेनत गर्नुपर्ने महसुस भइरहेको छ। राम्रो सुरुवात भएको छ तर अझै व्यापक रुपमा युवाहरुको सक्रिय सहभागिताको खाँचो छ। यो आवश्यकता साझा पार्टीको संगठन विस्तार गर्न होइन। यो प्रदेश र देश समृद्ध गर्न चाहिएको हो। 

हाम्रो वास्तविकता

जहाँ नेतृत्व भ्रष्ट, लोभी र गैरजिम्मेवार हुन्छ, त्यहाँ अनेक किसिमका भाँडभैलो भइरहन्छ। जनतामा निराश व्यापक हुनेगर्छ। उर्जाशील मनहरु पनि धरासायी हुन्छन्। कसैले केही गर्न खोजे पनि अनिश्चित गन्तव्यका कारण उदाएका सपनाहरु पनि अस्ताउछन्। म हाम्रो देशको दशा यस्तै देखिरहेको छु। यो चरम निराशाको अभिव्यक्ति होइन। नेतृत्वप्रति पूर्वाग्रह पनि होइन। बल्कि यो आक्रोश हो। 

आज म मात्रै होइन, म जस्ता लाखौं युवाहरु नेतृत्व संग रिसाएका छन्। आक्रोशित छन् तर त्यो आक्रोश पनि सही ठाउँमा उपयोग हुन सकिरहेको छैन। नागरिक विचल्लीमा छन्। बीच यात्रामा पथप्रदर्शकको साथ छुटेको महसुस भइरहेको छ। तर पनि सशक्त भएर अगाडि आउने हिम्मत अझै पनि युवा पुस्ताले गर्न सकिरहेको छैन। त्यो युवा भित्र म पनि पर्छु। तपाईं पनि पर्नुहुन्छ। हामी सबै पर्छौं। यदि गन्तव्यको टुंगो हुन्थ्यो भने सामाजिक सञ्जालमा, चोकचोकमा, नेताका हरेक भाषणका शब्दहरूमा गालीका फोहोरहरु छुट्दैनथे होला। 

अब हामी निष्कर्ष ननिस्कने आलोचना र साथ नछुट्ने गाली गर्न बन्द गरौं। हाम्रा धेरै अलोचनहरु धार बिनाको हतियार भइसकेका छन। जसले प्रहार त गर्छन् तर लक्ष्य विच्छेद गर्न सक्दैनन्। नेतृत्वको शरीर पनि बोधो भइसकेको छ। ती कानहरुले जनताको आवाज सुन्छन् तर केही पहल गर्न आवश्यक नै ठान्दैनन्। किनभने उनीहरुले हामी माथि खेल्न सिकेका छन्। अघिपछि हामीले जति बोले पनि चुनावमा भोट दिने उनीहरूलाई नै भन्ने राम्रोसँग बुझिसकेका छन्। 

युवाहरुलाई प्रस्ताव

हुन त हाम्रा गाउँ बस्तीहरुमा दिन प्रति दिन युवाहरुको चाप घट्दै गएको छ। अहिलेको कोरोना संकटले भने घरघरमा युवाहरु फर्किएका छन्। यसै अवसरमा बाहिर गएर विश्व र प्रविधिलाई बुझेका जानेका, भोगेका र आफ्नो गाउँको लागि केही गर्न इच्छुक साथीहरूले आफ्नो वरपरका छ जना युवाहरुलाई समयसापेक्ष सोच विकास गर्न प्रेरित गरौं। सकिन्छ भने प्रत्येक वार्ड हरुमा छरछ जनाको युबा खबरदारी समूह बनाऊ। त्यस्तो समूहको नेतृत्व स्थायी रुपमा गाउँ तिर नै बस्ने युवाहरुलाई गर्न दिउँ।

यस्तो समूहले वार्ड ले गरिरहेका सम्पूर्ण कामहरूको निगरानी गर्ने, वार्ड लाई सहयोग गर्ने, खबरदारी गर्ने र राम्रारनराम्रा सबै कामको प्रचार गर्ने काम गर्न लगाऊ। जसले वार्ड बासीलाई पनि थाहा होस् कि उनीहरूका नजिकका जनप्रतिनिधि कस्ता रहेछन् भन्ने। कतिपय अवस्थामा वार्डका निर्णयहरु वार्ड बासीलाई चासो हुँदैन र सहीरगलतको पहिचान पनि हुँदैन।

त्यस्तो अवस्था सृजना भएमा यही समूहले स्पष्टसंग बुझाउने काम पनि गरौं। वार्ड सँगै पालिका स्तरमा, जिल्ला स्तरमा र प्रदेश स्तरमा पनि खबरदारी गरौं। अलि व्यापक मात्रामा सहभागिता बढाउने काम गरौं। 

उपाय पुरानो हुन सक्छ तर यो प्रस्ताव किन गरिएको हो भने, अब देशले रगत बग्ने आन्दोलन थेग्न सक्दैन। नयाँ पुस्ताले नयाँ आन्दोलन गर्नु जरुरी छ। आन्दोलनका लागि सडक जाम नै गर्नुपर्छ, टायर नै बाल्नुपर्छ, हतियार नै बोक्नुपर्छ भन्ने मानसिकता पनि त तोड्नुछ। र यो आन्दोलनको पछाडि कुनै राजनीतिक स्वार्थ वा राजनीतिक मुद्धा लुकेको भने हुनुहुँदैन। विशुद्ध समृद्धि, सुसंस्कृत राजनीति। 

अबको बाटो
अब फगत आलोचनाले मात्रै देश सुध्रिदैन। आफ्नो सक्रियताको प्रमाण सामाजिक सञ्जालमा दिएर मात्रै पनि रत्ती भर परिवर्तन हुँदैन। म सही छु भनेर दावी गरेर मात्रै पनि देश सही बाटोमा हिँड्दैन। अबको हाम्रो यात्रा मन सँगै मत परिवर्तनको लागि हुनु जरुरी छ। मत परिवर्तन भनेको आस्था परिवर्तन गर्नु होइन।

आस्था जसको जहाँ छ, उसले त्यही आस्था रखोस्। यो तपसिलको कुरा हो। तर चार बर्ष तीन सय ६४ दिन गाली गरेर अन्तिममा एक दिनमा फेरि त्यहिलाई हामीले अगाडि बढाई दियौ भने अबको धेरै वर्ष सम्म नेपाल अहिलेको भन्दा फरक हुँदैन। यसको लागि अब सोच्ने समय हामी संग छैन। हामीले अब निर्णय गर्नुपर्ने बेला हो। 

निष्कर्ष
हामीले पछिल्लो सात दशकभन्दा बढी समय विशुद्ध राजनीतिक गतिविधि र अधिकारप्राप्तीमा समय वितायौ। यस बीचमा नागरिक तहबाट समृद्धिको कुरा खासै उठेन। हाम्रो पहिलो गल्ती यही निर थियो। तर अब पनि चुप लागेर बस्ने हो भने राणाले बिपीलाई, बिपीले पञ्चहरूलाई, पञ्चहरुले फेरि बहुदललाई, बहुदलले संघीयतालाई जस्तो नेपाल हस्तानान्तरण गरेको थियो, अबको सात दशकपछि सम्म त्यो भन्दा निकै माथि पुगौला भन्ने खासै ठूलो अपेक्षा रहँदैन। अबका हरेक क्षणहरु समृद्धिका लागि व्यतीत गरौं। देश अब एक वा दुई प्रयासमै सही दिशामा दगुर्नेवाला पनि छैन। देशलाई सही बाटोमा लाग्न पनि हामीलाई ठूलो मिहेनत र आँट चाहिएको छ।

भनिन्छ, अहिले सम्मका हरेक राजनीतिक परिवर्तनको सुरुवात राजधानी या सहर बाट सुरु भएका हुन्। तर अब आर्थिक समृद्धिको अभियान भने गाउँबाट सुरु हुनुपर्छ। गाँउलाई नै आर्थिक समृद्धिको केन्द्र बनाउनुपर्छ। यो अभियान युवाबाट सुरुवात गर्ने र युवालाई नै केन्द्रीय हिस्सा बनाउनु पर्छ।

यसका लागि अब भनेर होइन, गरेर देखाउने बेला आएको छ। एक पटक युवा पुस्ताको बलिदानको समय फेरि आएको छ। हामी आफ्नो जिम्मेवारीबाट पछि हट्नु हुँदैन। अघिल्लो पुस्ताको राजनीतिक उपलब्धि हामी उपभोग गर्दै छौं भने हाम्रो पुस्ताले पनि पछिलो पुस्तालाई सम्झनलायक नेपाल बनाएर हस्तानान्तरण गर्नैपर्छ। नत्र पछिको पुस्ताले हामीलाई धिक्कार्ने छ। 

लेखक साझा युवा संगठनका केन्द्रीय सदस्य हुन्। 
 

कमेन्ट लोड गर्नुस