सुदूर नेपाललाई विश्वसँग जोड्दै

मैजस्ता शठ, दास, पुत्र नबनून् आमा कसैका पनि

२०७७ जेठ १३, ०९:५५ खबर संवाददाता

मेरो बाघ भनी रहेछ मसंगै आफ्नो कलाकौशल ।
देखून् लोक समग्र अग्रगतिमा आऊ लगाऊ बल ।
पोखौं को सित दग्ध भो हृदय यो उम्ल्यो सवै शोणित ।
आफ्नैअंग चिथोर्छु, फोर्छु धरणी आक्रोश आफैसित ।

खुर्सानीसंग स्वाभिमान कसरी साटौं म स्वाधीनता ?।
मेरा मित्र छिमेकको मसंगको दादागिरी धृष्टता ।
आमाको फरिया फजियत सहौं चिम्लौं दुवै लोचन ?
अत्याचार प्रहार मातृहृदको संकष्ट उद्बोधन ।

मेरोगौरव शीप पौरख सवै मेरो बिरूदावली ।
पुर्खाको इतिहास आज म स्वयं हेरी रहूँ झल्झली ।
आमाको अपमान,इज्जत लुटी निर्वस्त्र पार्दा पनि ।
वर्षौंसम्म सहेर बस्नु कसरी मुर्दा सरीको बनी ।।

आगो पोल्छ समात्न खोज्छ जसले जाँदैन उफ्रीकन ।
टोक्ला है अरिंगाल खोज्छ निहुं जो जाँदैन उफ्रीकन ।
बग्ने नै छ बगाउँने जलधिमा उफ्रेर आफै गए ।
टोक्ला निश्चय सर्प याद गर है अन्याय गर्दै रहे ।।

के का निम्ति भएँ म मानव स्वयं भन्दैछ मेरै मन ।
साँढे ,बंगुर ,गिद्ध,स्याल र गधा जन्मेर मोटाउँन।
बाँचेरै पनि श्वानझै हुनपुगें धिक्कार मेरो जुनी ।
मैजस्ता शठ,दास,पुत्र नबनून् आमा कसैका पनि ।।

कमेन्ट लोड गर्नुस