भारतबाट गौरीफन्टा पुगेका दुई हजारलाई खाना खुवाइयो
धनगढी : भारतबाट फर्किएका नेपालीहरुलाई खानापानी उपलब्ध गराउने अभियान अन्तर्गत आज करिब दुई हजार जनालाई खाना र पानी उपलब्ध गराइएको छ। एक सातादेखि जारी अभियान अन्तर्गत आजपनि भारतबाट आएका नेपालीलाई धनगढीको सीमा क्षेत्रमा खाना र पानी वितरण गरिएको हो।
यो अभियान अन्तर्गत आज आरपी मोर्डन ईण्डष्ट्रिजका सञ्चालक राजकुमार अग्रवालका तर्फबाट एक हजार, कैलाली हार्डवेयर संघका तर्फबाट पाँच सय, नेपाल टेलिकम क्षेत्रीय कार्यालय अत्तरीयाका लेखा प्रमुख शिला भण्डारी र धनगढी उपमहानगरपालिका –२ सन्तोषीटोलका महेश जोशीका तर्फबाट दुई सय जनालाई खाना तथा पानी वितरण गरिएको हो। जोशीले छोराको पास्नीको खर्च कटौती गरेर भारतबाट नेपालीहरुको खाना र पानीका लागि सहयोग गरेको बताएका छन्।
अभियानमा सहयोग गर्ने हार्डवेयर संघका अध्यक्ष सुरेन्द्र राठी, महासचिव कुवेर शाही लगायत संघका पदाधिकारी, आरपी बेकरी तथा आरपी मोर्डन ईण्डष्ट्रिजका सञ्चालक आदित्य अग्रवाल खाना वितरणमा सहभागी भए। भारतबाट भोकै आएका नेपालीहरुलाई खाना तथा वितरण गरिरहेको दृष्य तथा समाचार पढेर मनकारी व्यक्तिहरुले स्वर्फुतढंगले यो अभियानमा सहभागिता जनाएका हुन्।
नेपालीहरुलाई सीमा क्षेत्रमा खाना र पानी खुवाउने अभियानबाट प्रभावित भएर वेष्र्टन फार्मेसीका सञ्चालक प्रमोद शर्माले एक हजार जनालाई खाना खुवाउन आर्थिक सहयोग गरेका छन्। त्यस्तै एक बैंकमा कार्यरत अफिसरले नाम नखुलाउने गरि यो अभियानमा १५ हजार रुपैंया सहयोग गरेका छन्। त्यस्तै राउण्ड टेबल धनगढी अत्तरीयाले दुई हजार जनालाई खाना खुवाउन सहयोग गरेको छ।
धनगढीका एक निर्माण व्यवसायीले नाम नखुलाउने गरी सय कार्टुन मिनरल वाटरका लागि रकम उपलब्ध गराएका छन्। त्यस्तै अनमोल विश्वास सुसेन्टरका सञ्चालक शरद रावलले भारतबाट आउने नेपालीहरुलाई पानी वितरणका लागि पाँच हजार रुपैया उपलब्ध गराएका छन्।
समाजसेवी श्याम तायलको अगुवाईमा शुरु भएको यो अभियानमा चौलानी डिपार्टमेण्टल स्टोरका सञ्चालक मानसिंह साउँद तथा कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा लगायतका व्यक्तिहरुको सहभागिता रहेको छ। अभियानको संयोजन दिर्घराज उपाध्यायले गरिरहेका छन्।
कम्तिमा ५० हजार नेपालीलाई खाना खुवाउने लक्ष्य राखेर यो अभियान शुरु गरिएको तायलले बताए। उनले भारतबाट नेपालीहरु आउनेक्रम जारी रहेसम्म खाना र पानी अभियान जारी रहने बताए। नेपालीहरुलाई खाना उपलब्ध गराउन चौलानी होटलमा मेस सञ्चालनमा छ। आवश्यकताका आधारमा खाना पकाउनेगरि सञ्चालित मेसमा दैनिक पाँच हजार जनालाई खाना पकाउने जनशक्ति र खाद्य सामग्रीको व्यवस्थापन गरिएको छ।
खाना प्याकिङ र वितरण मारवाडी युवा मञ्च, राउण्ड टेबल धनगढी अत्तरीयाका पदाधिकारीहरुको सक्रिय सहभागिता रहेको छ।