सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वविद्यालय सञ्चालनअघि प्रक्रिया अवरुद्ध गर्ने प्रयास उचित हुँदैन : डा.आनन्दबहादुर चन्द

२०८३ साउन ७, ०५:४१ खबर संवाददाता

धनगढीः कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य डा. आनन्दबहादुर चन्दले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन नै हुनुअघि आशंका र अनुमानका आधारमा प्रक्रिया अवरुद्ध गर्ने प्रयास उचित नहुने बताएका छन्।

उनले विश्वविद्यालय सञ्चालनपछि कुनै अनियमितता, कमजोरी वा कानुनविपरीत गतिविधि भए निष्पक्ष छानबिन गरी कानुनी कारबाही हुनुपर्नेमा आफू स्पष्ट रहेको उल्लेख गर्दै सुशासनमा कुनै सम्झौता हुन नसक्ने बताए। तर, कुनै ठोस आधारबिना आशंका मात्रका आधारमा विश्वविद्यालय सञ्चालनको प्रक्रिया रोक्न खोज्नु सुदूरपश्चिमका नागरिकमाथिको अन्याय हुने उनको भनाइ छ।

डा. चन्दका अनुसार नेपालमा आधुनिक चिकित्सा शिक्षा सुरु भएको ४९ वर्षपछि सुदूरपश्चिमले आफ्नै भूमिमा चिकित्सा शिक्षा सञ्चालन गर्ने ऐतिहासिक अवसर प्राप्त गर्न लागेको हो। धनगढीस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले यो केवल एउटा विश्वविद्यालय सञ्चालन हुने विषय मात्र नभई दशकौँदेखि सुदूरपश्चिमवासीले देखेको सपना साकार हुने महत्वपूर्ण क्षण भएको बताए।

उनले निर्वाचनपछि सरकार गठन भएसँगै विश्वविद्यालयलाई प्राथमिकतामा राखेर निरन्तर पहल गरिएको जानकारी दिए। सम्बन्धित निकाय, विश्वविद्यालयका पदाधिकारी, स्थानीय समुदाय तथा यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरूको सक्रिय प्रयासका कारण अब सुदूरपश्चिममा चिकित्सा शिक्षा सञ्चालनको वातावरण बनेको उनको भनाइ छ।

डा. चन्दले विश्वविद्यालय सञ्चालनसँगै प्रदेशमै विशिष्टीकृत स्वास्थ्य सेवा विस्तार, दक्ष चिकित्सक उत्पादन तथा स्वास्थ्य क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने आधार तयार हुने विश्वास व्यक्त गरे। उनले विगतमा जस्तै सुदूरपश्चिमका विकासका योजनालाई विभिन्न बहानामा रोक्ने वा ढिलाइ गराउने प्रवृत्ति दोहोरिन नहुने बताए।

“आज आवश्यक कुरा विरोध होइन, जिम्मेवार सहयोग हो,“ उनले लेखेका छन्, “सुदूरपश्चिमले पनि अन्य प्रदेशसरह आफ्नै भूमिमा चिकित्सा शिक्षा र विशिष्टीकृत स्वास्थ्य सेवा पाउने अधिकार राख्छ। नेपालमा चिकित्सा शिक्षा सुरु भएको ४९ वर्षपछि आएको यो ऐतिहासिक अवसरलाई सफल बनाउनु हामी सबैको साझा दायित्व हो।“

डा. चन्दले सुदूरपश्चिमका हजारौँ विद्यार्थी, स्वास्थ्यकर्मी र आम नागरिकको दशकौँदेखिको आकांक्षा पूरा गर्ने दिशामा अघि बढेको विश्वविद्यालय सञ्चालनको प्रक्रियालाई सकारात्मक ढंगले सम्पन्न गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।
 

कमेन्ट लोड गर्नुस