सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाको कहरः राजनीतिक पहुँचको आधारमा सेवा

२०७७ जेठ १२, ०४:०४

-गोबिन्द विष्ट

सर्वप्रथम स्थानीय सरकारले गरेका राम्रो कामको प्रशंसा गर्दछु र अगामी दिनहरुमा पनि राम्रो कामको आशा गरेको छु। स्थानीय तहलाई शुभकामना पनि दिन चाहान्छु। देशको यस विषम परिस्थितीमा प्रत्येक पालिका लागि धन्यवादका पात्र हुनुहुन्छ। 

तर अझै संघीयता संगै महामारी फैलिदा चुनौती र अवसर देखिएको छ, धेरैले चुनौतीको सामना गर्दै अगाडि पुगिसके भने कोही पुग्दैछन। कोही अल्झिएकै छन्। चिनको वुहान प्रान्तबाट सुरु भएको यो भाइरसबाट विश्वमा ५५ लाख जना संक्रमित भएका छन्। साथै यसका कारण साढे तीन लाखको ज्यान समेत गइसकेको छ। 

कोरोना भाइरसको संक्रमण दु्रत गतिमा छ। यसको लक्षण देखिनु राम्रो हो किनकि बिरामी उपचारको दायरामा आउने थियोे। तर कोरोना लक्षणरहित हँुदा संक्रमण फैलावट बढी देखिदैछ। विश्वमा भाइरसको डर हुनुको एउटा कारण यसको औषधि छैन र अर्को यसबाट बच्न कुनै भ्याक्सिन बनेको छैन। 

त्यसैले यसले विश्वका अब्बल देश मानिनेको पनि पसिना निकालेको छ। अमेरिका, इटाली चीन, भारतको हालत छर्लङै देखिएको छ। हाम्रो देशमा पनि यो भाइरसले छाडेन, कारण  समयमै यसको व्यवस्थापमा कमिकमजोरी हुन। नेपालमा पनि ७ सय भन्दा बढी कोरोनाका संक्रमित छन् भने ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ।  

कोभिड– १९ को व्यवस्थापनमा ढिलाइ, सचेतनाको कमी, जिम्मेवार निकायको निस्किृयता, लकडाउनको उल्लंघन तथा अवज्ञाका कारण नेपालमा यसले विक्राल रुप लिइरहेको छ। नेपालमा अत्यावश्यक सेवा बाहेकलाई पास नदिने भनियो तर पहुँचवालाहरुले सजिलै पास पाए। जसका कारण वास्तविक पास पाउनेले पाएनन्। यहाँ आफ्नो मान्छे, आफ्नो पार्टी हेरियो तर वास्तविकको समस्या हेरिएन।

सुदूपश्चिम प्रदेश सरकारको पनि खासै सन्तोसजनक काम भएको देखिएन जसको परिणाम अब देखिदैछ। अझै कोरोनाको भयानक स्थिति त आएकै छैन। तर आरडिटी र पिसीआर चेकजाँचमा यहाँ आफ्नो पार्टी, क्षेत्र हेरेर राजनीती गरिँदैछ। 

हुन त नेपालको संविधानले स्वास्थ्य सेवा मौलिक अधिकारमा राखेको छ तर यहाँ परीक्षण भागबन्डाको अधारमा भइरहेको छ। क्वारेन्टाइन होस् या आइसोलेसन अथवा आइसियू यी सबैमा पहुँच हेरिने गर्दछ। केहिगरी यो भाइरसले नेपालमा पनि महामारी रुप लियो भने के होला सोच्न सकिन्छ ? अनि अहिले राजनीतिक पहँुचमा सेवा लिनेको हालत के होला ? यदि सबैको परीक्षण नगरिए यसले देशका स्थिती कहाँ लैजाला ? 

अर्को कुरा आरडिटी र पिसीआर परीक्षण निजी अस्पतालले गर्न सक्ने भन्नेले के जनाउँछ ? कोरोनाबाट राष्ट्रले उन्मुक्ति पाएपनि कोरोनाको निहुँ देखाउँदै मोटो रकम असुल्नेहरुलाई यसले फाइदा दिलाउँछ। 

जनताले एउटा सिटामोल निःशुल्क पाउन पनि दिन कटाउनुपर्ने आखिर कहिलेसम्म ? प्रसुती हुन डोकोलाई एम्बुलेन्स कहिलेसम्म बनाउने ? अब त बुझौ आम नागरिक हरेक कुरामा सजक भई गलत कामको बिरोध गरौं।  राम्रो कामको प्रशंसा गरौं।  आफ्नो अधिकार आफै प्रयोग गरौं।  कोरोनाको अन्त गर्न सबै प्रयास गरौं र सबैले नियमको पालना गरौं।  

(लेखक विष्ट श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र, कञ्चनपुरमा हेल्थ असिस्टेन्टको रुपमा कार्यरत छन्।) 

कमेन्ट लोड गर्नुस