सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा यार्सागुम्बा सङ्कलनमा रोक लागेपछि घर खर्च कसरी धान्ने भन्ने चिन्ता

२०७७ जेठ ११, १०:४५ नरेन्द्र कार्की

 दार्चुला : पछिल्लो समयमा विश्वभर कोरोना भाइरसको त्रास फैलिरहेको भन्दै दार्चुलामा यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको छ। हजारौँको सङ्ख्यामा यार्सागुम्बा सङ्कलन गर्न जाने क्षेत्रमा सङ्कलन अनुमति दिँदा जोखिम बढ्ने भएपछि सङ्कलनमा रोक लगाइएको हो। यार्सागुम्बा सङ्कलनमा रोक लगाइएसँगै स्थानीयको आयस्रोत भने गुम्ने देखिएको छ।

यार्सा टिपेर आफ्नो घर खर्च तथा छोराछोरीको पढाइ खर्च जुटाउने दार्चुलाका अधिकांश स्थानीय तहका नागरिक यसपटक भने आर्थिक मन्दी हुने चिन्तामा छन्। अहिलेको समयमा आर्थिक स्रोतका रूपमा यार्सागुम्बा सङ्कलन नहँुदा परिवारको आम्दानी स्रोत घट्ने अपिहिमाल गाउँपालिका–४ स्थानीय उद्धवसिंह बोहराले बताए।

“तीनदेखि चार हजार मिटरको उचाइमा पाइने यार्सागुम्बा टिप्न जेठको पहिलो सातादेखि अनुमति जारी हुँदै आएको थियो तर यसपटक भने अनुमति नदिने भएपछि हामी स्थानीयवासी निराश छौँ”, उनले भने, “कोरोनाको जोखिमभन्दा पनि घर खर्च र बालबालिकाको पठनपाठन कसरी गराउने चिन्ता पलाएको छ।

हामी जडीबुटीमा आश्रित छौँ।” आयस्रोतका रूपमा यार्सागुम्बामा निर्भर रहेका यहाँका अधिकांश स्थानीयवासी यार्सा सङ्कलन गरेर ऋण तिर्ने भन्दै एक वर्षदेखि नै खाद्यान्न किन्ने गर्छन्। यसपटक व्यापारीले पनि लगानी गरेका छैनन्। यार्सा बन्द भएपछि स्थानीयवासीले अहिले कसरी ऋण तिर्ने भन्ने समस्या रहेको बोहरा बताउँछन्।

अपिहिमाल गाउँपालिका–२ का प्रेमसिंह कार्की यसपटक अपिहिमालका स्थानीय यार्सागुम्बा सङ्कलन गर्न नपाएर समस्यामा पर्ने अवस्था आएको बताउँदै भने,  “यसपटक घर खर्च चलाउनै मुस्किल हुने भयो, गाउँमा काम पनि छैन, यार्सा सङ्कलन गर्न रोक लगाइएको छ।” कामको चटारो हुने यो बेला घरमै बस्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

दार्चुलाको अपिहिमाल गाउँपालिका, मार्मा, व्यास, नौगाड गाउँपालिकाका धेरैजसो बासिन्दा यार्सा सङ्कलन गर्न जाने गरेका छन््। विगतमा यसबेला विद्यालय बन्द गराएर हिमाली क्षेत्रका स्थानीयवासी यार्सागुम्बा सङ्कलनमा जाने गरेका थिए। डेढदेखि दुई महिनासम्म हिमाली क्षेत्रमा यार्सागुम्बा र अन्य जडीबुटी सङ्कलनमा व्यस्त रहने यहाँका स्थानीयवासी यसपटक भने बन्दाबन्दीले घरमै बस्न बाध्य छन्।  

हिमाली गाउँपालिकाका धेरैजसो मानिसको आयआर्जनको मुख्य स्रोत नै यार्सागुम्बा हो। यसपटक बन्दाबन्दीका कारण यार्सागुम्बा सङ्कलन पनि ठप्प भएको व्यास गाउँपालिका–१ का विमल बोहराले बताए।  “खेतपानी लगाउन पाइएको छैन, व्यापार गर्न नाका ठप्प छ, यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिइएको छैन्। यसपटक कसरी परिवार पाल्ने भन्ने चिन्ता हुन थालेको छ”, उनले भने, “सबै तवरले हामी समस्यामा परेका छौँ, कुञ्चा ढिलाइ सर्दा खेतीपातीसमेत गर्न समस्या भएको छ।”

व्यासका स्थानीयवासी गाउँ उक्लिए पनि यसपटक गाउँमा गएर के गर्ने भन्ने अन्योलमा छन्। विगतमा यो बेला खेतीपाती सकेर यार्सागुम्बा सङ्कलनका लागि लेकतिर जाने गरेका थिए। यहाँका स्थानीयवासी एक वर्ष अघिदेखि नै व्यापारीबाट उधारोमा सामान खरिद गर्ने गर्छन् भने छोराछोरी जिल्ला बाहिर पढाउन यार्सागुम्बाले सहयोग पुगेको थियो।

स्थानीयवासीले एक सिजनमा पाँचदेखि २० लाखसम्म आम्दानी गर्ने गरेका थिए।अपि नाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत अशोककुमार मेहता अहिले विश्वव्यापीरूपमा फैलिएको कोरोनाका कारण जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले नै निर्णय गरेर यार्सागुम्बाको सङ्कलन अनुमति नदिने निर्णय गरेको बताउछन्।  

“अहिलेको अवस्थामा सङ्कलन अनुमति दिँदा जङ्गलमा पनि जोखिम बढ्ने खतरा हुन्छ”, उनले भने,  “देश पूरै बन्दाबन्दीमा छ सङ्कलनकर्तालाई अनुमति दिएपछि हजारौँको सङ्ख्यामा जान्छन्, कोरोनाको जोखिम हुन्छ।” मेहताका अनुसार बीउ उम्रिन नपाउँदै टिप्ने गरिएको थियो, एक वर्ष सङ्कलन नभए अर्को वर्ष उत्पादन बढी हुन्छ र एक वर्ष सङ्कलन नभए बीउ फैलिनुका साथै पुरानो बिरुवा पनि हुर्किन पाउँछ।

अपि नाम्पा संरक्षण क्षेत्र यार्सागुम्बा सङ्कलनका लागि स्थानीयवासी जङ्गल गए÷नगएको समेत निरीक्षण गरी फर्किएको छन्। यसैसाता अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले रेञ्जर भुवनेश्वर चौधरीलगायतको टोलीलाई अपि हिमाल गाउँपालिकामा पठाएर यार्सागुम्बा सङ्कलनका लागि मान्छे लेक गए÷नगएकाबारे निरीक्षण गरी फर्किएको छ।

यसपटक अहिलेसम्म कुनै पनि वन क्षेत्रमा यार्सागुम्बा सङ्कलनका लागि जङ्गल नगएको पाइएको छ। जिल्लामा वार्षिक पाँचदेखि सात क्विन्टलसम्म यार्सागुम्बा सङ्कलन हुने गरेको संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ। सङ्कलित यार्सागुम्बाबाट सरकारले मात्रै प्रत्येक वर्ष दुई करोडभन्दा बढी राजश्व सङ्कलन गर्दै आएको छ भने उक्त क्षेत्रका सङ्कलनकर्ताले पनि लाखौँ आम्दानी गर्दै आएका छन्।

दार्चुलाको व्यास र अपिहिमाल गाउँपालिकाका विभिन्न वनमा यार्सागुम्बा पाइने गरेको छ। चिकित्सा प्रणालीमा यार्सागुम्बालाई शरीरको प्राण सञ्चालन गर्ने, प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने, शक्ति बढाउने, शरीरका विभिन्न अङ्गजस्तै मुटु, कलेजो, मिर्गौला, रक्त प्रणाली, श्वास प्रणालीको कार्यक्षमता बढाउने र यौन क्षमता बढाउने सर्वगुण सम्पन्न जडीबुटीका रूपमा लिइन्छ। दार्चुलामा हरेक वर्ष १० हजारको हाराहारीमा यार्सा गुम्बा सङ्कलन गर्न स्थानीयवासी लेक जाने गर्दछन्। रासस 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस