सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सङ्क्रमितको सम्पर्कमा आएकाको खोजी सुरु

२०७७ जेठ ९, ०८:२८ खबर संवाददाता

कैलाली जिल्लामा तीन कोराना संक्रमित देखिएसँगै उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु गरिएको छ। जिल्लाको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुसँग सम्पर्कमा आएकाहरुको खोजी सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले बताए।

 ‘हामीले इलाका प्रहरी कार्यालय टीकापुरसँग समन्वय गरी सम्पर्कमा आएकाहरुको खोजी शुरु गरेका छौंँ’, चौधरीले भने। गाउँपालिका वडा नम्बर ४ र ७ का उनीहरु भारतको महाराष्ट्र, नेपालगञ्ज र इटहरीबाट आएको बताइएको छ। भारतबाट आएका संक्रमित यही जेठ १ गते कैलालीको सत्ती भन्सार नाका हुँदै जानकी गाउँपालिका पुगेका थिए। 

त्यस्तै इटहरीबाट आएका युवक गत वैशाख ३० गते र नेपालगञ्जबाट आएका युवक जेठ ३ गते गाउँपालिका पुगेको जानकी गाउँपालिकाका स्वास्थ्य संयोजक चौधरीले जानकारी दिए। 

संक्रमितलाई क्वारेन्टाइनमा राखिएको थियो। संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी शुरु गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख मनोहरप्रुसाद भट्टले जानकारी दिए। टीकापुर नगरपालिकासँग प्रत्यक्ष सीमा जोडिएको हुँदा टीकापुर नरगपालिकामा पूर्ण सतर्कता अपनाइएको छ।

टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले छिमेकी पालिकामा संक्रमण देखिँदा नगरपालिकामा उच्च जोखिम रहेको बताउँदै आवागमनलाई पूर्णरुपमा निषेध गर्ने विषयमा छलफल गरिने जानकारी दिए। रासस
 

कमेन्ट लोड गर्नुस