सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको छाङरुमा सशस्त्रको भवन निर्माण गर्न ११ करोड बजेट

२०७७ जेठ ९, ०४:०७

दार्चुला : दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाका रूपमा रहेको सामरिक महत्वको छाङरु (गागा) मा स्थापना गरिएको सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी)का लागि भवन निर्माण प्रक्रिया थालिएको छ। सशस्त्र प्रहरी बल नेपालले त्यहाँ भवन निर्माणका लागि बिहीबार बोलपत्र आह्वान गरेसँग भवन निर्माणको प्रक्रिया शुरु भएको हो।

सरकारले भावन निर्माणका लागि  ११ बरोड बजेट छुट्याइसकेको छ। उक्त स्थानमा एक सय ६० सशस्त्र प्रहरी रहने गरी सशस्त्रको गुल्म नै स्थापना गर्ने गृह मन्त्रालयको योजना छ। गुल्म स्थापना भएमा कालापानी, लिपुलेक, व्यासगुफा, कैलाश मानसरोवरको प्रवेशद्वार तथा अपिनाम्पा संरक्षण क्षेत्रजस्ता सामरिक महत्व बोकेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको सुरक्षा हुनेछ।

त्यहाँ गुल्म रहेपछि त्यस मातहत कालापानी नजिकैको कौवा र चीनसँगको सीमा तिङ्करमा थप दुई सीमा निगरानी चौकी (बिओपी) स्थापना गरेर सुरक्षा निगरानी बढाइने छ। त्यसका लागि आवश्यक जग्गा लिने प्रक्रियासमेत शुरु भएको मन्त्रालयले जनाएको छ। गत वैशाख ३१ गते नेपाली सेनाको हेलिकोप्टरमार्फत यहाँ २५ सशस्त्र प्रहरी पु¥याएर बिओपी स्थापना गरिएको थियो।

उनीहरुका लागि छ महिना पुग्ने राशनसमेत हेलिकोप्टरबाटै लगिएको छ। हाल मासिक २५ हजार भाडा तिर्ने गरी स्थानीय जीतबहादुर बोहराको घरमा बिओपी स्थापना भएको छ। भारतले महाकाली नदी किनारकिनारै सडक बनाएर गुञ्जीबाट कालापानी, हुँदै लिपुभञ्जाङसम्म पु¥याएको छ।

मानसरोवर जोड्न नेपाल भूमि हुँदै सडक बनाएर उद्घाटन गरेपछि सरकारले आफ्नो सीमारक्षाका लागि यसरी तत्कालै सशस्त्र प्रहरी सेनाको हेलिकोप्टरमार्फत पु¥याएको हो। जेठ १ गते भवन निर्माणका लागि सशस्त्र प्रहरीका इञ्जीनियर प्रहरी नायब उपरीक्षक मिलनमान मास्के नेतृत्वको टोलीले भावन निर्माणका लागि जग्गा नापजाँच गरेर आएको थियो।

अपिनम्पा संरक्षित क्षेत्रको मातहतमा रहेको कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये तिङ्कर नदीको किनारको १५ रोपनी जग्गा सशस्त्र प्रहरीलाई प्राप्त छ। भवन आधुनिक प्रविधियुक्त र यहाँको वातावरण सुहाउँदो बन्नेछ। बाह्रै महिना चिसो हुने र जाडोको समयमा अत्यधिक हिउँ पर्ने भएकाले त्यस अनुकूलको संरचना निर्माण गरिने छ।

३२ कोठे दुईतले भवन ‘सी’ आकारको बन्नेछ। डाइनिङ हललगायत छुट्टै बन्ने छ। स्थानीय स्रोतसाधन प्रयोग गरेर भवन निर्माण हुनेछ । ग्यास हिटिङसहितको भवन निर्माण गरिने छ । सशस्त्र प्रहरीको नं ५० गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्ट गुल्म बसेपछि भने सो क्षेत्रको सुरक्षा मजबुत हुने बताउँछन्।

पछिल्लो समयमा नेपालको विभिन्न सीमा क्षेत्रमा भारतले अतिक्रमण गरेपछि सरकारले सीमा क्षेत्रमा बढीभन्दा बढी सुरक्षाकर्मी पठाउने तयारी थालेको छ। गत मङ्सिर २३ गते सरकारले सीमा क्षेत्रमा थप ११४ निगारनी चौकी स्थापना गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार विभिन्न क्षेत्रमा अहिलेसम्म १४ वटा थपिसकिएको छ।

हाल बिओपीको सङ्ख्या सीमा क्षेत्रमा १२१ पुगेको छ । क्रमशः बिओपी थप्दै लगिने सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले बताए।  दार्चुला सदरमुकाम खलङ्गाबाट छाङ्रु झण्डै ८० किलोमिटरको दूरीमा छ। छाङरुबाट गुञ्जी दोभान झण्डै १० किलोमिटरको दूरीमा पर्छ।

गुञ्जीबाट लिपुलेक १७ किलोमिटर टाढा छ। छाङरुबाट कालापानी १४ किलोमिटरको टाढा पर्छ। त्यसैले यहाँ सुरक्षाकर्मी तैनाथ गर्नु महत्वपूर्ण हो। फौज बढाएर अन्य क्षेत्रमा समेत सुरक्षाकर्मी परिचालन गर्नु जरुरी छ। त्यहाँ अहिलेसम्म सडक बाटो नभएकाले मानिसले भारतको बाटो प्रयोग गरेर पुग्नुपर्छ।

सरकारले यहाँको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ। तत्कालीन अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १०७ बिओपी थियो। मङ्सिरमा सरकारले ११४ ठाउँमा बिओपी स्थापना गर्ने निर्णयपछि भारतको सीमा क्षेत्रमा १२ र एउटा सङ्खुवासभाको किमाथाङ्कामा राखिसकिएको छ।

तत्कालीन समयमा उत्तरी नाकामा सात र बाँकी दक्षिणी सिमानामा बिओपी राख्ने निर्णय भएको थियो। अब हुम्लाको हिल्सा, मुस्ताङको कोरला, ताप्लेजुङको ओलाङचुङगोला तथा रसुवा र सिन्धुपाल्चोकको सीमा क्षेत्रमा क्रमशः बिओपी राख्ने तयारी गरिएको छ।

भारतमा ५३० बिओपी रहेकाले सरकारले त्यही हाराहारीमा नेपाली सीमा क्षेत्रमा पनि सुरक्षा चौकी स्थापना गर्ने तयारी गरिरहेको छ। त्यसको आवश्यक प्रक्रियासमेत थालिएको छ। यसरी पोष्ट बढाउँदा सशस्त्र प्रहरीको दरबन्दीसमेत बढाउनुपर्ने आवश्यकता छ।रासस  

कमेन्ट लोड गर्नुस