सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा कृषि कार्यक्रम प्रभावित, आधा बजेट खर्च गर्न पनि मुस्किल

२०७७ जेठ ८, ०५:१२ भुवन भट्ट

धनगढी : कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण सुदूरपश्चिम प्रदेश सरकारका कृषि कार्यक्रम पनि प्रभावित भएका छन्। प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र मातहतका निकायले कार्यान्वयन गर्ने कृषि तर्फका अधिकांश कार्यक्रम प्रभावित भएका हुन्।

मुख्यमन्त्री कृषी तथा पशुपन्छी विकास कार्यक्रम, प्रधानमन्त्री कृषी आधुनिकीकरण परीयोजना लगायतका केही कार्यक्रम आशिंक रुपमा सञ्चालन भएका छन्। तर अन्य कार्यक्रम भने सञ्चालन गर्न नसकिएको मन्त्रालयले जनाएको छ। कोरोना त्रासपछि जारी लकडाउन र त्यसले निम्त्याउने बेरोजगारी र भोकमरीको समस्या न्यूनीकरणका लागि आगामी वर्षमा बजेट बढी माग गरिएको छ। 

सुदूरपश्चिम प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको चालु आर्थिक वर्षमा २ अर्ब ८१ करोड बजेट रहेकोमा अहिलेसम्म २० दशमलव ४१ प्रतिशत बजेट मात्रै खर्च भएको छ। मुख्यमन्त्री कृषी तथा पशुपन्छी विकास कार्यक्रम, प्रधानमन्त्री कृषी आधुनिकीकरण परीयोजना लगायतका मुख्य योजनालाई अगाडी बढाईएको छ तर अधिकांशं कार्यक्रम बन्द भएको मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत गोकुल प्रशाद बोहराले बताए। 

मन्त्रालयमा कृषि तर्फका अधिकांश कार्यक्रम अनुदानका छन्। तर जारी लकडाउनका कारण अनुदान वितरण गर्न सम्झौता समेत गर्न नसकिएकोे कृषी ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले बताए। 

उता भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षमा बढिमा ५० प्रतिशत मात्रै बजेट खर्च गर्न सकिने जनाएको छ। तर आगामी वर्ष भने कारोना भाइरसका कारण रोजगारी गुमेका युवाहरुलाई लक्षित कार्यक्रम ल्याइने मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माको दावी छ। 

 

भुवन भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस