कैलालीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएपछि तीन जना पक्राउ
धनगढी : कैलालीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएपछि तीन जना पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका वडा नम्वर १ भुर्सा बस्ने साहानु चौधरीका २१ बर्षीय छोरा प्रकाश चौधरीको मृत्यु भएपछि तीन जना पक्राउ परेका हुन्।
कर्णाली नदिबाट आएको नहरमा माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएपछि करेन्ट छोड्ने तीन जनालाई पक्राउ गरी मुद्धा चलाईएको प्रहरीले जनाएको छ।
जिल्लाको टीकापुर नगरपालिका वडा नम्वर १ ज्योतीनगरका ३८ बर्षीय डम्मरवहादुर राजी, सोही ठाउँका ३६ बर्षीय शेरसिंह लुहार र ५६ बर्षीय भाने साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
कैलाली जिल्ला अदालतबाट ७ दिन म्याद थप गर्दै अनुसन्धान भईरहेको उनले बताए।
यसअघि सोधपुछका लागि मृतकसंगै माछा मार्न गएका स्थानीय २५ बर्षीय हरी चौधरी, २० बर्षीय निराजंन चौधरी, २५ बर्षीय देव चौधरी र २२ बर्षीय दिपेश चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।