सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एक महिला मृत फेला, हत्या भएको आरोप

२०७७ जेठ ७, ०७:२७ खबर संवाददाता

धनगढी : धनगढीमा एक महिलाको हत्या भएको आरोप लागेको छ। धनगढी उपमहानगरपालिका जालीकी ४४ वर्षीया नरपता विष्ट खड्काको हत्या भएको आरोप लागेको हो। नरपता ६ गते मात्रै मृत फेला परेकी थिईन्।

महिला मानव अधिकार रक्षक सञ्जालले आज विज्ञप्ती जारी गर्दै नरपताको हत्या भएको तर विष सेवनबाट मृत्यु भएको भन्दै आत्महत्या बनाउन खोजिएको आरोप लगाएको छ। 

‘नरपताको पृष्ठभूमि, घटना भएको दिन उनका माइती पक्षसंग भएको कुराकानी र घटनापछि मृतकका सौतेना छोरा, श्रीमान् र आफ्नै छोराबाट भएको घटना अध्ययन गर्दा उनको आत्महत्या नभई हत्या भएको शंका गर्न सकिने थुप्रै ठाउँहरु छन्।’ जारी विज्ञप्तीमा भनिएको छ।  

घटना अध्ययन अनुसार मृतक नरपताका सौतेना छोराले विगतदेखि नै सम्पत्तीको विषयलाई लिएर उनीमाथि कुटपिट, गालीगलौज गर्ने, घरनिकाला गर्ने गरेको आरोप समेत लगाईएको छ।

यता जिल्ला प्रहरी कार्यालय कैलालीले भने नरपताको विष सेवनबाटै मृत्यु भएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले घटनाको छानविन भईरहेको बताए। 

यस्तो छ विज्ञप्ती

धनगढी उपमहानगरपालिकाको जालीकी ४४ वर्षीया नरपता विष्ट खड्काको २०७७ जेठ ६ गते मंगलबार रहस्मय तरिकाले भएको मृत्युप्रति हामी कैलालीका मानवअधिकार रक्षकहरुको गम्भीर ध्यानाकर्षण भएको छ । बन्दाबन्दीको यो समयमा घरका सबै सदस्य घरबाहिर निस्कन नमिल्ने अवस्थामा विष सेवनबाट मृत्यु भयो भनिएकी नरपताको पृष्ठभूमि, घटना भएको दिन उनका माइती पक्षसंग भएको कुराकानी र घटनापछि मृतकका सौतेना छोरा, श्रीमान् र आफ्नै छोराबाट भएको घटना अध्ययन गर्दा उनको आत्महत्या नभई हत्या भएको शंका गर्न सकिने थुप्रै ठाउँहरु छन् । घटना अध्ययन अनुसार मृतक नरपताका सौतेना छोरा एकेन्द्र खड्का र नरेश खड्काले विगतदेखि नै सम्पत्तीको विषयलाई लिएर उनीमाथि कुटपिट, गालीगलौज गर्ने, घरनिकाला गर्ने गरेको थाहा भएको छ करिब हप्तादिन अघिबाट पनि घरमा उनलाई गाली बेइजती गर्दै कुटपिट भईरहेको भन्ने कुरा उनले आफ्नो माइती पक्षलाई टेलिफोनमा गरेको कुराकानीबाट थाहा भएको छ ।

हिजो ६ गते दिउसो १ बजेतिर घटना भइसकेपछि नीजका श्रीमान् चक्र खड्का, सौतेना छोराहरु एकेन्द्र खड्का, नरेश खड्का लगायत परिवारले घटना बारे निजकी धनगढीमै रहेकी आफ्नै छोरी लगायत माइती पक्षलाई खबरै नगरि टाढाका माइती पक्षको घरमै गएर नरपताले विष खाएर मरी, तपाईले हस्ताक्षर गर्दिनुपर्यो, लास उठाउन गाह्रो भो भन्दै घरघरमा पुगेको र कसैले हस्ताक्षर गर्न नमानेपछि मात्रै मंगलबार लास उठ्न नसकेका कारण राती १० बजेपछि बाहिरकै मान्छेबाट छोरी र माइती पक्षले घटना बारे थाहा पाएको बुझिएको छ । यदि यो आत्महत्या नै हो भने घटना भइसकेपछि उनकी छोरी र माइती पक्षलाई समयमै सबै कुरा किन भनिएन ?

आफ्नै छोरी, आमाबुबा र भाईले घटना बारे घण्टौंपछि अरुबाट थाहा पाउनु पर्ने किन ? मृतकका छोराहरु किन टाढाटाढाका मान्छेलाई हस्ताक्षर गराउन हिँडे ? अनि लकडाउनको यस्तो अवस्थामा घरभरि मान्छे हुँदासमेत एउटा महिलाले विष सेवन गरेर मर्नु पर्ने अवस्था किन आयो ? विष सेवन गरेको मान्छेलाई समयमै अस्पताल किन पुर्याइएन ? यी सबै कुराहरु बुझ्दा यो आत्महत्या नभई हत्या नै हो कि भन्ने हाम्रो बुझाई छ ।

यसर्थ जिल्ला सदरमुकाम तथा प्रदेश राजधानीमै दिनदहाडै भएको यो घटनाबारे सत्य तथ्य बाहिर ल्याउनका लागि न्यायको पक्षमा सधै वकालत गर्ने संचार माध्यमहरुले पनि साथ दिनुहुनेछ भन्ने हाम्रो पूर्ण विश्वास रहेको छ । प्रहरीले यस बारेमा अनुसन्धान गर्न ढिलासुस्ती, आनाकानी र झण्झट नमानी सत्य तथ्य पत्ता लगाओस् भन्ने हाम्रो जोडदार माग रहेको छ । अन्यथा हामी अधिकारकर्मीहरु मृतकको न्यायको लागि शारीरिक दुरी कायम गर्दै कडा आन्दोलनमा उत्रिन बाध्य हुनेछौं भन्ने कुरा पनि यही विज्ञप्तीमार्फत अवगत गराउन चाहान्छौं ।

कमेन्ट लोड गर्नुस