सुदूरपश्चिममा मृगौला प्रत्यारोपण गरेका विरामी नियमित औषधी सेवनबाट वञ्चित हुँदै
धनगढी : कैलालीको घोडाघोडी १० का राजेन्द्र कठरियाले मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा २०७५ असार ३० गते मृगौला प्रत्यारोपण गरेका थिए। बुबाले दिएको मृगौला शरिरमा प्रत्यारोपण गरेका कठरियाले त्ययता नियमित औषधी सेवन गर्दै आएका छन्। नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम मार्फत तीन÷तीन महिनाको औषधी लिएर नियमित सेवन गर्दै आएकोमा अहिले औषधी सकिदैछ।
औषधीका लागि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर जानुपर्छ तर लकडाउनका कारण समस्या भएको कठरियाले बताए। उनले यसअघि ल्याएको औषधी सकिन थालेपनि लकडाउनले सवारी साधन नचल्दा कसरी काठमाडौँ जाने भन्ने समस्या भएको सुनाए। उनले नियमित औषधी सेवन गर्न नपाए प्रत्यारोपण गरेको मृगौलाले काम गर्न छोड्ने भन्दै उनीहरु चिन्तित भएका छन्।
उनले औषधी कैलालीका फार्मेसीमा नपाउँने हुँदा काठमाडौँ जानुपर्ने भएकाले सवारी साधन नचल्दा समस्या भएको भन्दै स्थानीय प्रशासनले सहजीकरण गरिदिन माग गरेका छन्। जिल्ला प्रशासन कार्यालयले आफूहरुलाई सवारी पास उपलब्ध गराएर वा औषधी मगाएर सहयोग गरिदिए आभारी हुने कठरियाको भनाई छ।
औषधी आपूर्तीमा सहजीकरण गर्न मृगौला प्रत्यारोपण गरेका बिरामीहरुको माग छ। महेन्द्रनगरका अमृगौला प्रत्यारोपण गरेका दीपकबहादुर ठकुल्लाले दैनिक औषधी सेवन अति आवश्यक रहेकाले प्रदेश सरकारले सहजीकरण गरिदिनुपर्ने माग गरे। मानिसको मिर्गौलाले काम गर्न छोडेपछि दुईवटा विकल्प हुन्छ।
पहिलो प्रत्यारोपण, दोस्रो बाँचुन्जेल सातामा कम्तीमा दुईपटक डायलासिस गराउनु हो। मिर्गौलाले काम गर्न छोडेपछि हप्तामा दुईपटक डायलासिस मेशिनको सहायताले शरीरमा जम्मा हुने विकार र तरललाई निकाल्नुपर्छ। तर अहिले मृगौला प्रत्यारोपण गर्न बाँकी बिरामी पनि नियमित डायलासिस गर्न नपाएर हैरान भएका छन्।
उनीहरुलाई अस्पताल सम्म पुग्न समेत समस्या रहेको छ। सेती प्रादेशिक अस्पतालका डायलासिस वार्डका व्यवस्थापक दिपक भट्टले पनि यातायात सेवा बन्द भएका कारण नियमित डायलासिस गर्ने मृगौला पीडित बिरामीलाई समस्या भएको बताए।
मृगौलाका विरामीलाई लकडाउनले समस्या पारेपनि स्थानीय प्रशासन, स्थानीय र प्रदेश सरकारले वेवास्ता गरिदिएका छन्। उनीहरुलाई अस्पताल सम्म सहजै पुग्ने र जिल्लाभित्रै औषधी खरिद गर्ने व्यवस्था पनि गरिएको छैन्।
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले मृगौला प्रत्यारोपण गराएका बिरामीहरुले मेडिकल स्टोरलाई जानकारी गराएपछि औषधी मगाईदिने बताए।
उनले तत्काल औषधी उपलब्ध गराउन नसकिएपनि पूर्व जानकारी गराएमा सहजीकरण गर्न सकिने उनको भनाई छ।