स्वास्थ्य नीति २०७६ र सुदूरपश्चिमको स्वास्थ्य सरोकार
खेमराज पन्त
सरकारले स्वास्थ्य नीति २०७६ ल्याएको छ। स्वास्थ्य क्षेत्रको विकासमा उक्त नीतिको दूरगामी प्रभाव रहनेछ। सरकारले आउँदो वर्षका लागि नीति तथा कार्यक्रम ल्याउँदै गर्दा सुदूरपश्चिममा स्वास्थ्य क्षेत्रलाई उक्त नीति तथा कार्यक्रम अनुसार निर्माण गरिने आगामी आवको बजेटले कत्तिको सम्बोधन गर्दछ ? सुदूरपश्चमको आम चासोको विषय हो। सदनमा बजेट प्रस्तुत गर्नअघि नै सुपका स्वास्थ्यसँग सम्बन्धित एजेण्डाहरूमाथि चर्चा आवश्यक छ।
सरकारको आगामी आवका लागि प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्यसँग सम्बन्धित योजना तथा कार्यक्रम स्वास्थ्य नीति २०७६ अनुरूप नै हुन। तसर्थ स्वास्थ्य नीति २०७६ का केही बुँदा यस लेखमा चर्चा गरिएको छ। संघीयताको कार्यान्वयनका क्रममा स्वास्थ्य नीति २०७६ ले नेपालका स्वास्थ्य संस्थालाई वर्गिकरण पनि गरेको छ। स्थानीय निकाय, प्रदेश र संघ अन्तर्गत कुन कुन स्वास्थ्य निकाय रहने, ती स्वास्थ्य संस्थाहरूमा कस्तो दरबन्दी रहने र ती संस्थाले के कस्तो स्वास्थ्य सेवा उपलब्ध गराउने तथा भविषयमा ती स्वास्थ्य संस्थामा कुन सेवा विस्तार गर्ने जस्ता विषय उल्लेख गरिएको छ।
स्वास्थ्य नीति २०७६ मा उल्लेख भएअनुसार हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र, हरेक स्थानीय तहमा प्राथमिक अस्पतालहरू, प्रदेश अन्तर्गतका द्वितीय तहको अस्पतालहरू, प्रादेशिक अस्पतालहरू र संघ अन्तर्गत रहने गरी अति विशिष्टकृत अस्पतालहरू र संघअन्तर्गत नै रहने गरी हरेक प्रदेशमा कम्तीमा एक विशिष्टिकृत अस्पताल (ट्रेजरी अस्पताल) र एक स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना र सञ्चालन हुनेछ।
यस्तै स्वास्थ्य मन्त्रालयले बनाएको नेपाल स्वास्थ्य विकास मापदण्ड २०७४ मा पनि अस्पतालले पु¥याउने सुविधा उल्लेख छ। अस्पताललाई शैय्याको आधारमा नभएर अस्पतालले पु¥याउने सेवा/सुविधाको आधारमा वर्गिकरण गरिएको छ। वडास्तरमा स्थापना हुने अस्पतालले खोप, परिवार नियोजन, गर्भवती एवम् शिशु जाँच, साधारण प्रसुती, नवजात शिशुसेवा, डट्स प्रणाली, नसर्ने रोगको परामर्श, औषधि वितरण, प्रयोगशाला सेवा जस्ता आधारभूत स्वास्थ्य सेवा दिने व्यवस्था गरिएको छ।
पालिका स्तरका प्राथमिक अस्पतालमा भने वडा स्तरका अस्पतालले दिने सेवाका अतिरिक्त फिजिसियन, स्त्रीरोग, प्रसुति, बालरोग लगायत हाडजोर्नी परीक्षण सेवा साथै २४सै घण्टा आकस्मिक सेवा, प्रसुति तथा नवजात शिशु शल्यक्रिया र ठूला शल्यक्रिया सेवा दिने व्यवस्था छ। प्रदेश तहको अस्पताल भनेको वडा र नगर तहका अस्पतालले रिफर गर्ने अस्पताल हुन। यस्तो अस्पतालले जटिल प्रसुती सेवा, क्षयरोग, दम, आँखा जस्ता रोगको उपचार र रोकथाम गर्न जस्ता सेवा दिने व्यवस्था राखिएको छ। ट्रेजरी अस्पताल भनेका मुटु, फोक्सो तथा रक्तनली सर्जरी (कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी), किडनी, मानसीक रोगको सेवा दिने केन्द्र मातहतको अस्पताल को रूपमा राखिएको छ।
सुदूरपश्चिममा स्वास्थ्य नीतिको प्रभाव
स्वास्थ्य नीति २०७६ अनुसार सुदूरपश्चिम अस्पताललाई वर्गिकरण भएको छ। वडास्तरीय आधारभूत अस्पतालहरू, गाउँपालिका/नगरपालिकामा प्राथमिक अस्पताल, प्रदेश मातहतका जिल्ला अस्पताल/स्वास्थ्य केन्द्र र प्रादेशिक अस्पतालको रूपमा सेती अञ्चल अस्पताल तथा संघ अन्तर्गतको डडेल्धुरा अस्पताल। डडेल्धुरा अस्पताललाई टे«जरी अस्पतालको रूपमा घोषणा भएको छ।
सेती अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा घोषणा गरेर सुदूरपश्चिममा ठूलो धोका भएको छ। प्रादेशिक अस्पतालमा हुनुपर्ने सेवा लगभग सेती अञ्चल अस्पतालले पु¥याउँदै आएको थियो। शैय्या थप्ने बाहेक सेती प्रादेशिक अस्पतालको कुनै लक्ष्य नै नहुने भयो। काठमाडौं बाहिर ५ वटा ट्रेजरी अस्पताल स्थापना भइसकेपछि सेती प्रादेशिक अस्पतालमा ११औं तहको विशेषज्ञ डाक्टर आउने कुनै सम्भावना नै भएन।
डडेल्धुरा अस्पतालमा १९ वटा विशेषज्ञ र २० वटा मेडिकल अफिसरको दरबन्दी कायम गरिए तापनि भएको १ जना विशेषज्ञ डाक्टर काज मिलाएर गएका छन् भने पाँच/छ जना मेडिकल अफिसरको रूपमा आठौं तहका डाक्टर मेसु छन्। जबकि टे«जरी अस्पतालमा ११औं तहका मेसु हुनुपर्छ। गत आव देखीनै लागु यस कार्यक्रममा केही भवन बनाउन बाहेक डडेल्धुरा ट्रेजरी अस्पतालमा कुनै परिवर्तन भएन। ट्रेजरी अस्पताल घोषणा गरिएतापनि आगामी १० वर्ष यता प्रादेशिक अस्पतालको स्तरमा पुग्न पनि निकै संघर्ष गर्नुपर्ने अवस्था छ। किनभने अस्पताल चल्न विरामी, डाक्टर, उपकरण, अस्पतालको भौतिक अवस्था महत्वपूर्ण पक्ष हुन। आगामी बजेटमा पनि वर्तमान अवस्थालाई स्तरोन्नति गर्नेभन्दा कुनै चामत्कारिक कार्यक्रम थप होला भन्नेमा खासै आशावादी हुने ठाउँ छैन।
विभिन्न ट्रेजरी अस्पतालहरूको गत आ.व.मा भएको स्तरोन्नति
ट्रेजरी अस्पताल घोषणासँगै ती अस्पतालमा विभिन्न सुधार भएका छन्। भरतपुर अस्पतालमा मुटु, फोक्सो तथा रक्तनली सर्जरी (कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी) सेवा शुरु भएको छ। भरतपुरमा २८ शैय्याको आईसियु सेवा पनि थप भएको छ।
विराटनगरको कोशी अञ्चल अस्पताल, विरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल र नेपालगञ्जको भेरी उपक्षेत्रीय अस्पताललाई विभिन्न विभाग थपिनुका साथै प्रत्येकमा ६० करोडभन्दा बढी बजेट विनियोजन सहित ५०० शैय्याको अस्पतालका लागि पूर्वाधार तयार गरिँदैछ। सबैभन्दा कमजोर डडेल्धुरा अस्पतालको अवस्था रहेको छ। अस्पतालको बारेमा माथि नै उल्लेख गरिएको छ। १९ वटा विशेषज्ञ र २० वटा मेडिकल अफिसरको दरबन्दी कायम गरिए तापनि पाँच/छ जना मेडिकल अफिसरको रूपमा (आठौं तहका डाक्टरले) साधारण सेवा बाट अस्पताल धानेका छन। जबकि ट्रेजरी अस्पतालमा ११औं तहका मेसु हुनुपर्छ। केही भवन बनाउन बाहेक डडेल्धुरा ट्रेजरी अस्पतालमा कुनै परिवर्तन भएन।
केन्द्रको हेपाहा प्रवृत्ति र स्थानीय मेडिकल माफियाको चलखेल
अन्य ट्रेजरी अस्पताल तराईमा खोलिदा सुदूरपश्चिमको पहाडी क्षेत्रको केन्द्र डडेल्धुरामा ट्रेजरी अस्पतालको घोषणा हुँदा शुरुमा सबैलाई खुशी लाग्नु स्वाभाविक हो। तर जो देखिन्छ त्यो हुँदैन र जो हुँदैन त्यो देखिन्छ भनेझैँ डडेल्धुरा ट्रेजरी अस्पताल घोषणा हुनुपछि विभिन्न खेल रहेछ। वास्तवमा डडेल्धुरा अस्पताललाई प्रादेशिक अस्पताल वा ट्रेजरी अस्पताल जुनसुकै घोषणा गर्दा पनि फरक नपर्ने अवस्था छ। किनभने डडेल्धुरा तत्कालको समस्या विभागहरूको विस्तार, अस्पतालमा शैय्या विस्तार, डाक्टरहरूको उपस्थिति र विभिन्न पहाडी जिल्लाका नगरस्तरीय अस्पतालको रेफरा अस्पतालको रूपमा विकास र विस्तार गर्नु देखिन्छ। डडेल्धुरा अस्पताललाई सेती प्रादेशिक अस्पतालमा उपलब्ध स्तरको सेवा पु¥याउनु नै चुनौति छ। यहि गतिमा विस्तार हुने हो भने अझै एक दशक कुर्नुपर्ने स्थिति छ।
सरकारले डडेल्धुरा अस्पताललाई प्रादेशिक अस्पताल र सेती अञ्चल अस्पताललाई ट्रेजरी अस्पतालको रूपमा लग्नु पर्नेमा एक तिरले दुई निशान लगाएको छ। एकातिर सुदूरपश्चिममा पनि ट्रेजरी अस्पतालको घोषणा गर्ने अर्कोतिर भेरी अञ्चल अस्पतालमा योजना बनाउने क्रममा सु.प.का जनताको पनि रेफरा अस्पतालको रूपमा व्याख्या गर्ने बाट नै यो कुरा स्पष्ट हुन्छ।
स्वास्थ्य मन्त्रालय र सरकार सुपमा टे«जरी अस्पतालको विकास चाहँदैन। अन्य क्षेत्रमा ट्रेजरी अस्पताल छनौट गर्दा अस्पतालको वर्तमान अवस्था, सम्भाव्यता र भौगोलिक सुगमताका आधारमा छनौट गर्ने तर सुदूरपश्चिममा छनौट गर्दा अन्य प्रदेशमा गरिएका मापदण्डलाई आधार नबनाउने बाट नै स्पष्ट हुन्छ कि सरकार घोषणा त गर्छ तर नियत सफा छैन।
सुदूरपश्चिममा ट्रेजरी अस्पतालको विकास हुन नदिन मन्त्रालय मात्रै होइन सेती अञ्चल अस्पतालका डाक्टर/कर्मचारी र धनगढीका मेडिकल माफियाको पनि हात छ। विशेषज्ञ ट्रेजरी अस्पताल घोषणा भएमा सेती अस्पतालमा पनि ११औं तहका विशेषज्ञ डाक्टर आउने तथा तिनीहरूबाट नै मेसु हुने हुँदा अघोषित रूपमा सेती अस्पतालका डाक्टरको खेल छ भनेर सहजै अनुमान गर्न सकिन्छ। केही समयअघि मेसुका लागि भएको संघर्षले पनि यो कुरा पुष्टि गर्छ। धनगढीमा क्लिनिकहरूले काठमाडौंबाट विशेषज्ञ डाक्टर ल्याएर क्लिनिक चलाउने, अस्पताल भित्रका कर्मचारीले बाहिर ल्याव विस्तार गर्ने तथा प्राइभेट अस्पतालहरू एकपछि अर्को खुल्दै जाने कुराले पनि चलखेलको संकेत गर्छ।
सुदूरबासीको स्वास्थ्यमा खेलवाड
सुदूरपश्चिममा जुनसुकै अस्पताल होस् तत्काल आधुनिक चिकित्सका सबै विशिष्ट सेवा कार्डियोलोजी, युरोलोजी, नफ्रोलोजी, न्युरोलोजी, ग्याष्ट्रोलोजी, वर्न प्लाष्टिकका साथै इन्टरनल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसुति सेवा, डेन्टल, बालरोग, अर्थोपिडिक, नाक, कान र घाँटी, मानसिक, चर्म, रेडियोलोजी र कार्डिक क्याचरलाजेसन सुविधा सम्पन्न अस्पताल आवश्यक छ। यी सेवा धनगढीमा स्थापित प्राइभेट अस्पतालले २०औं वर्षपछि सम्म दिनसक्ने छैनन्, न त यी सुविधा डडेल्धुरा अस्पतालवा सेती प्रादेशिकको अस्पतालले दिनेछ। जबकि आगामी पाँच/सात वर्षभित्र अन्य प्रदेशमा शुरु भइसक्ने छ। ट्रेजरी अस्पतालको अवधारणा सामान्य एमविविएस. पढाइ हुने अस्पताल भँन्दा माथिल्लो स्तरको अस्पताल हो भनेर बुझ्न सकिन्छ। तसर्थ सेती अस्पतालमा ट्रेजरी अस्पताल नबनाइनु यस क्षेत्रको ठूलो दुर्भाग्य हो।
सुधारको अपेक्षा
सरकारले प्रत्येक प्रदेशमा ट्रेजरी अस्पताल बनाउने कार्यक्रम शुरु गरेसँगै सुदूरपश्चिममा पनि ट्रेजरी अस्पतालको चर्चा जरुरी छ। अन्य प्रदेशमा विस्तार तथा विकास भएकै स्तरमा यहाँ पनि टे«जरी अस्पताल बनाउन जरुरी छ। विकास अग्रगामी हुनुपर्छ। सेती अञ्चल अस्पतालले जुन सेवा प्रदान गरेको थियो प्रादेशिक अस्पतालको रूपमा घोषणा गरिएपछि यसमा स्तरोन्नति गर्ने ठूलै योजना आवश्यक भएन।
डडेल्धुरा अस्पताललाई यदि प्रादेशिक अस्पताल बनाइएको खण्डमा सो अस्पतालमा प्रादेशिक अस्पतालको स्तरमा विकास गर्नुपर्ने धेरै योजना बनाउन सकिन्थ्यो। तर यहाँ उल्टा भयो। हालै कर्णाली प्रदेश सरकारले सुर्खेतमा रहेको क्षेत्रीय अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा घोषणा गरिएको छ। सुपमा पनि उपक्षेत्रीय अस्पताललाई प्रादेशिक अस्पताल बनाइयोस् वा सेती अस्पताललाई पनि ट्रेजरी अस्पतालको रूपमा घोषणा गरियोस्। अहिले कोभिड–१९ को उपचारको क्रमले पनि यो आवश्यकतालाई बल दिन्छ।
(लेखक पन्त ऐश्वर्य बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन)