धनगढी उप–महानगरपालिकाको राहत ठेक्कामा मिलोमतो देखियो–अख्तियार
धनगढी : धनगढी उप–महानगरपालिकाको राहत ठेक्कामा मिलोमतो भएको अख्तियारले ठहर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले प्रारम्भीक अनुसन्धानका क्रममा खरिद प्रक्रियामा मिलोमतो भएको ठहर गरेको हो।
‘राहतको ठेक्कामा कैफियत देखिएपछि उजुरी कायम गरेर विस्तृत अनुसन्धान थाल्ने तयारी छ। टिप्पणी उठाएर केन्द्र पठाउँदैछौ।’ अख्तियार स्रोतले भन्यो।
अनुसन्धानका क्रममा उप–महानगरपालिकाले सार्वजनिक खरिद ऐन मिचेको भेटिएको छ।
अख्तियार कञ्चनपुरका सूचना अधिकारी टोपवहादुर विष्टले भने, ‘सञ्चार माध्यममा आएका समाचारलाई आधार मान्दै खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएका थियौ। कैफियत थिएन भने प्रारम्भिक अनुसन्धानमै टुंङग्यो लाग्ने थियो। तर कैफियत देखिएकाले विस्तृत अनुसन्धान गर्ने तयारी छ।’
उनका अनुसार महेन्द्रनगर कार्यालयले आजभोलीमै टिप्पणी उठाएर केन्द्र पठाउनेछ। केन्द्रिय कार्यालयले केन्द्रबाटै वा महेन्द्रनगरमै कार्यरत अधिृकतहरुलाई अनुसन्धान अधिकृत तोक्न सक्नेछ।
अख्तियार स्रोतका अनुसार प्रारम्भीक अनुसन्धानका क्रममा सार्वजनिक खरिद ऐन मिचेर मिलेमतोमा ठेक्का सम्झौता गरी राहत सामाग्री खरिद गरेको देखिएको छ।
यस्तै हतार हतारमा सूचना जारी गरी एउटै आपूर्तीकर्ताको बोलपत्र दर्ता गरेको, सूचना लुकाएको, खाद्य वस्तुको गुणस्तर समेत परीक्षण नभएको अख्तियारको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको छ।
उप–महानगरपालिकाले धनगढीको ठाकुर ट्रेड लिङ्कलाई दुई करोड ६१ लाखमा ठेक्का दिदै राहतको चामल लगायतका सामाग्री आपूर्ती गरेको थियो।
अख्तियारले जेठ १ गते धनगढी उप–महानगरपालिकामा छापा हान्दै खरिद प्रक्रियाका सबै कागजात नियन्त्रणमा लिएको थियो।