सुदूर नेपाललाई विश्वसँग जोड्दै

६ महिनादेखि सञ्चारविहीन दार्चुलाको त्रिदेशीय सीमा

२०७७ जेठ ५, ११:३८ नरेन्द्र कार्की

दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यास गाउँपालिकाको छाङ्गरु र तिङ्करमा छ महिनादेखि सञ्चार अवरुद्ध भएको छ। गत मङ्सिरमा व्यासका स्थानीयवासी खलङ्गा झरेसँगै त्रिदेशीय सीमा क्षेत्र सञ्चारविहीन भएको हो।

छाङ्गरुमा नेपाल टेलिकमको स्काइ टावर स्थापना गरिएको भए पनि अत्यधिक हिमपातका कारण गत मङ्सिरदेखि अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ। “हिमपातले छाङ्गरुमा राखिएको स्काइ फोन सेवाको टावरमा राखिएको सोलार र अन्य उपकरणमा क्षति पुगेको हुनसक्छ”, टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले भने। 

बढी हिमपातले हरेक वर्ष टावरमा क्षति पुर्याउँदै आएको छ। गत वर्ष हेलिकप्टरमार्फत टेलिकमका कर्मचारी गएर टावर निर्माण गरेको तर यो वर्ष छाङ्गरु पुगेर टेलिफोन टावर सञ्चालन गर्न बाटो अवरुद्ध हुँदा सम्भव नभएको टेलिकम प्रमुख गुरुङको भनाइ छ। “व्यासमा गत वर्ष सोलारमा ठूलो क्षति पुगेको थियो, अहिले के के क्षति भएको छ भन्ने यकिन जानकारी छैन”, उनले भने, “यो क्षेत्रमा बढी हिमपात हुने हुँदा सोलार प्रणाली र रेडियो उपकरणमा क्षति पुग्ने गरेको छ।” 

उनका अनुसार स्काइ फोन सेवा पुनः सञ्चालन गर्न बन्दाबन्दीका कारण सामान ल्याउनै समस्या छ। “जिल्ला ल्याए पनि व्याससम्म पुग्न सकिने अवस्था अहिले छैन”, उनले भने। बाटोघाटो नै नभएको अवस्थामा तत्काल नै सेवा सञ्चालन गर्ने अवस्था नरहेको टेलिकम दार्चुलाले जनाएको छ। व्यासका स्थानीयवासी पनि गाउँ जान पाएका छैनन्। अहिले छाङ्गरु र तिङ्करमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पुुगेका छन्।

व्यासमा रहेको स्काइ टावरले छाङ्गरु र भारतका अधिकांश बस्तीमा कभरेज पुर्याउँदै आएको थियो। भारतका गुञ्जी, छायालेक, कुटीका बासिन्दा र भारतीय सुरक्षाकर्मीले अधिकांश समय नेपालकै फोन सेवा प्रयोग गर्दै आएका छन्। अहिले व्यासमा रहेको फोन सेवा सञ्चालन नहुँदा सुरक्षाकर्मीलाई समेत सञ्चारमा समस्या भएको छ। 

नेपाल प्रहरी र सशस्त्र प्रहरी गत वैशाख ३१ गते छाङ्गरु र तिङ्कर उक्लिएदेखि फोनमार्फत सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए। “सशस्त्र र नेपाल प्रहरीको भिएचएफ सञ्चार सेटमार्फ सम्पर्क हुने गरेको छ” उनले भने, “मोबाइलको टावर बिग्रिएका कारण फोनमार्फत सम्पर्क छैन।”

उनीहरुले माथिबाटै सञ्चारसम्पर्कमा आउनुपर्ने बाध्यता छ। खोँचमा रहेको छाङ्गरुमा टावर हुँदा विगतमा पनि तिङ्करले फोन गर्न समस्या झेल्दै आएको थियो। अहिले झन छाङ्गरुमा पनि फोन बनाउन पहल हुन नसक्दा गएका सुरक्षाकर्मीले पनि समस्या झेलेका छन्। छाङ्गरुका स्थानीय सुधा बोहराले फोन सेवा नहुँदा सम्पर्क्विहीन भएको बताए।

गत वैशाख ३१ गते सेनाको हेलिकप्टरमार्फत गाउँ पग्नुभएका बोहराले गाउँ गएदेखि कहीँ फोन सम्पर्क गर्न पाएका छैनन्। उनले गाउँ जानुअघि स्काइ र नमस्ते सीम लगेको बताउँदै भने, “सीम लगियो, टावर छैन। टावर बन्यो भने सम्पर्क गर्न चाहिन्छ भनेर सीम लगेको हुँ।” उता भारतले व्यास क्षेत्रमा टेलिफोन टावर राखेको छैन। भारतीय नागरिक पनि नेपालकै टेलिकमको सेवा प्रयोग गर्दै आएका थिए। 

दार्चुलाकै व्यास गाउँपालिका–१ छाङ्गरुमा स्काई, वडा नम्बर २ को राप्लामा नमस्ते, दुहुँ र व्यासकोशीमा क्षेत्र कौचुलामा स्काई नमस्ते टावर सञ्चालनमा ल्याइएको छ। छाङ्गरुमा नमस्तेको त्रि जी फोन सेवा राख्न सर्भे भए पनि बन्दाबन्दीका कारण काम शुरु गर्न नसकिएको टेलिकमले जनाएको छ।

नौ वटा स्थानीय तहका २४ ठाउँमा टेलिकमका टावर निर्माण र तीन ठाउँमा सर्वेक्षण गरेर सेवा प्रवाह गरेको नेपाल टेलिकम दार्चुलाले जनाएको छ। टेलिकमको पहुँच जिल्लाभरि पु¥याउने उद्देश्यले हरेक स्थानीय तहमा टावर निर्माण गरी सेवा प्रवाह भइरहेको टेलिकमले जनाएको छ।

टेलिकम दार्चुलाका अनुसार महाकाली नगरपालिकाभित्र छ वटा, शैल्यशिख नगरपालिकामा चार, मालिकार्जुन गाउँपालिका क्षेत्रमा पाँच, दुहुँ, नौगाड र व्यास गाउँपालिकामा दुई÷दुई, अपिहिमाल, मार्मा र लेकममा एक÷एक वटा टावर निर्माण भएर सञ्चार सेवाको पहुँच पुगेको टेलिकम प्रमुख गुरुङले जानकारी दिए।

चालु आर्थिक वर्ष्भित्र व्यासको छाङ्गरु, दुुहुँ र अपिहिमाल गाउँपालिकामा टेलिकमको टावर थप्ने गरी सर्भेको काम भएको गुरुङले जानकारी दिए। “बन्दाबन्दीका कारण यी क्षेत्रमा काम शुरु हुन सकेको छैन”, उनले भने, “बन्दाबन्दी खुल्ने बित्तिकै यी क्षेत्रमा काम शुरु हुने छ।” टेलिकमले व्यास गाउँपालिका–१ छाङ्गरु, दुहुँ गाउँपालिका–१ ब्रह्मलेक तथा अपिहिमाल गाउँपालिका–३ पाथामा सर्भे काम भइसकेको जनाएको छ। 
 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस