सुदूर नेपाललाई विश्वसँग जोड्दै

जङ्गे पिल्लर चोरी भो

२०७७ जेठ ४, ०६:४६

श्याम भण्डारी

हेर्दाहेर्दै आँखाअघि बुद्ध चोरी भो
जान्दा जान्दै नाकैमुनि माटो चोरी भो
दरिद्रधूर्तको स्वार्थ हेर
दिन दहाडै सिमामा जङ्गे पिल्लर चोरी भो
तरपनि गोर्खाली उसकै पहरेदारी भो
आज आएर उसैले छाति कुल्चेर गयो
मातृभूमिको पिडामा सगरमाथाको शिर भारी भो

वारीको लालपूर्जापारी भो
पारीको साँधवारी भो
द्यृष्टता र दुस्साहस हेर छिमेकीको
बिहान उठ्दा मेरो आँगन उसको आलुबारी भो
तरपनि गोर्खाली उसकै पहरेदारी भो

गोमनले सुस्ता, कालापानी र लिपुलेक निलेको
मेरो सरकारलाई मिडीयाबाट जानकारी भो
दशगजा मिचेको, सिमामा जङ्गेपिल्लर ढलेको
सम्माननियले थाहै नपाउने अनौठो समझदारी भो
तरपनि गोर्खाली उसकै पहरेदारी भो

मित्रताको कपटी हात बढाएको रहेछउसले
धृतराष्ट्रको अङ्गालो स्वाधिनता रेट्ने आरी भोे
मातृभूमिको अखण्डतामा दर्दनाक भाला खोप्यो
सार्वभौमतामा ठेस लाग्दा, मेरो मनभारी भो
तरपनि गोर्खाली उसकै पहरेदारी भो

सदभावमाथि लोभ र स्वार्थ हावीभई
सुमधुर सम्बन्ध पनि खेल फोहोरी भो
कुरुक्षेत्र होईन, शान्ति रोजेर अघि बढ्दा
अवसरवादी त छिमेकीकै लागि शिकारी भो
तरपनि गोर्खाली उसकै पहरेदारी भो

गरिब, अविकशित र परनिर्भर हुँदा मेरो देश
विस्तारवादीलाई हाम्रो स्वाधिनता दालभात तरकारी भो
साम्राज्यवादीले सगरमाथा मिच्दा, महाकाली लुट्दा
आफ्नै देश लूट्नेहरु सदियौँ देखि पराईकै बफादारी भो
तरपनि गोर्खाली उसकै पहरेदारी भो

माटोको रक्षा गर्नेहरु माटो मै मिलेर जान्छन यहाँ
लेण्डुपहरुका मौन ओठ र मृत–मुटु पारिकै ईमान्दारी भो
आफ्नै दश गजामा सधैँ गोविन्द गौतमहरु ढल्छन 
बलिदानीको मूल्य शहिद र केही दाम सरकारी भो
तरपनि गोर्खाली उसकै पहरेदारी भो

सहनशीलतालाई हाम्रो कमजोरी ठानेर उसले
सम्झेको होला गोर्खाली खुकुरीको धार बेकारी भो
इतिहासले चिन्छ भोकै प्यासै लड्ने वीर नेपाली
आफ्नै लेण्डुप क्लेर मात्र, गोर्खाली हात लाचारी भो
फेरीपनि गोर्खाली उसकै पहरेदारी भो

हेर्दाहेर्दै आँखैअघि बुद्ध चोरी भो
जान्दाजान्दै नाकैमुनि माटो चोरी भो
दरिद्र धूर्तको स्वार्थ हेर
दिन दहाडै सिमामा जङ्गे पिल्लर चोरी भो
फेरीपनि गोर्खाली उसकै पहरेदारी भो
कुनै पल राष्ट्रियताको रक्त संचार हुनेछ गोर्खालीमा
त्यसदिन एक आवाज नै उसको लागी ठूलो खबरदारी हो

(भण्डारी फरेस्ट एक्सन नेपालमा कार्यरत छन)
 

कमेन्ट लोड गर्नुस