सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कुहिएको चामल प्रकरण : खाद्य प्रविधिको समेत मिलोमतो

२०७७ जेठ ४, ११:२४ खबर संवाददाता

धनगढी : राहत सामाग्री खरिदको ठेक्कामा धनगढी उप–महानगरपालिका र आपूर्तिकर्तासंगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको समेत मिलेमतो भएको आशंका गरिएको छ। उप–महानगरपालिकाले दुई करोड ६१ लाख बढिको राहत सामाग्री खरिद गर्दा दर्जनौ त्रुटी गरेकोमा खाद्य प्रविधिले पनि आर्थिक चलखेलको भरमा प्रमाणिकरण गरेको आरोप लागेको हो।

सप्लायर्सले धनगढी उप–महानगरपालिकालाई खाद्य सामाग्री आपूर्ति गर्दा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीबाट प्रमाणिकरण गरेको छ। पाँच पटक सामाग्री आपूर्ति गरिएकोमा पाँचै पटक खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले प्राप्त नमुना प्रयोगशालामा विश्लेषण गर्दा नेपाल सरकारको मापदण्ड अनुसार देखिएको भनेर प्रमाणिकरण गरेको छ।

कार्यालयले चामल पनि सरकारको मापदण्ड अनुसार रहेको भन्दै प्रमाणिकरण गरेकोमा उक्त चामल किरा र कुहिएको फेला परेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीमाथि पनि आशंका बढेको हो। खाद्यले सप्लयार्सले दिएको नमुनालाई नै प्रमाणिकरण गरेको हो भने एक पटक समेत आफै नमुना संकलन नगरेको समेत खुलेको छ।

उप–महानगरपालिकाले पनि नमुना लगेर खाद्यको प्रयोगशालामा एक पटक समेत पुगाएको छैन्। सप्लयार्सले दिएको नमुना र आपूर्ती गरेको सामान एउटै हो वा होईन् भन्ने पुष्टी नगरी प्रमाणिकरण र वितरण भएपछि खरिदको ठेक्कामा उप–महानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र आपूतिकर्ता ठाकुर ट्रेड लिंकको मिलोमतो भएको आशंका बढेको हो।

यता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका सूचना अधिकारी तथा खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरले भने धनगढी उप–महानगरपालिकाले समन्वय नगर्दा व्यापारीले ल्याएको नमुनालाई नै प्रमाणिकरण गरिदिएको बताए।

उनले खाद्यबाट र उप–महानगरपालिकाबाट एक पटक समेत नमुना संकलन समेत नभएको स्वीकार गरे। कुहिएको चामल फेला परेपछि भने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले वडा नम्वर ४ बाट चामलको नमुना संकलन गरेर लगेको छ।  

कमेन्ट लोड गर्नुस