सुदूर नेपाललाई विश्वसँग जोड्दै

घुम्नैपर्ने ‘लुकेको स्वर्ग’ अर्थात तालको लेक

२०७७ जेठ ३, ०१:५१ खबर संवाददाता

गणेश थापा मगर
सामाजिक संजालमा साथीहरुले पोष्ट गरेका खप्तड राष्ट्रिय निकुन्ज र बढीमालिकातिरको सुन्दर हरियाली फाँटसहितको तस्बिर हेरेर त्यहाँ जान मन लागिरहेको तर जान नपाएर मनमा चुकचुक लागी रहेको छ भने आउनुहोस सहजै पुग्न सकिने ‘लुकेको स्वर्ग’ अर्थात डडेल्धुरा–डोटीको सिमाना महाभारत लेकमा रहेको तालको लेकबारे चर्चा गरौं। प्रशस्त सम्भावना बोकेर पनि ओझेलमा परेको तालको लेक चर्चामा आउन थालेको छ र पछिल्लो समय परिस्थिती सहज नभए पनि यस तालको लेकसम्म भ्रमण गर्नेहरुको समुह फाट्टफुट्ट रुपमा देखिन थालेका छन्। 

डडेल्धुराको गन्यापधुरा गाउँपालीका, आलिताल गाउँपालीकाको सिमाना हगुल्टेको लेक तथा डोटी जिल्लाको शिखर नगरपालीका र जोरायल गाउँपालीकाबाट सहजै तालको लेक पुग्न सकिन्छ। तालको लेक पुग्न सबैभन्दा धेरै बाटाहरु तथा सहज बाटाहरु गन्यापधुरा गाउँपालीकाबाट भेटिन्छ जहाँ मोटरबाटो छाडेर कम्तिमा दुई घण्टा देखि ५ घण्टाको पैदलयात्रा पश्चात पुग्न सकिन्छ।  भर्खर मात्र चर्चामा आउन थालेको गन्तव्य भएको कारण खान र बस्ने सम्पूर्ण व्यवस्था आफैले गरेर जानुपर्ने हुन्छ भने सकेसम्म एकजना स्थानीयलाई पथप्रदर्शकको रुपमा लैजान पाइयो भने सुरक्षीत एवं ढुक्कको यात्रा हुनेछ। 

समुन्द्री सतहबाट २६०० मिटर भन्दा माथिको उचाईमा रहेको र ७५ प्रतिशत भन्दा धेरै वनजंगल रहेको अनुमान गर्न सकिने तालको लेक क्षेत्रमा विभिन्न प्रजातीका बोट बिरुवा तथा बुटयानहरु तथा फुलहरु हेर्न सकिन्छ। यस तालको लेक क्षेत्रमा रहेका विभिन्न साना ठुला ६–७ वटा पाटन अर्थात घाँसेमैदानहरु रहेको छन्। जुन वर्षैभरी हरिया घाँस एवं विभिन्न  प्रजातीका फुलहरुले सजिईरको हुन्छ भने तीमध्ये गन्यापताल र लामीतालसम्म भ्रमण गर्नेको संख्या अरु पाटनमा भ्रमण गर्नेहरुको तुलनामा केहि बढी देखिन्छ।

धार्मिक रुपमा यस क्षेत्रको प्रशिद्ध धार्मिकस्थल गन्याप मन्दिरसंगै जोडिएको यो क्षेत्र भ्रमण गर्दा खप्तडको झल्को मेटाउन सकिन्छ भने २६०० मिटर हाराहारीको उचाईमा एक किलोमिटर भन्दा लामा हरियाली फाँटमाथि कार्पेट ओछयाईएका जस्ता सून्दर फुलहरुको दृश्यले अवश्य पनि मनलाई प्रफुल्ल एव शान्त तुल्याउँछ। 

 

पर्यटकिय सम्भावना 
पछिल्लो समयमा नेपालीहरुमा पनि घुम्ने बानिको विकास भएको छ।  यद्यपी नेपाल भ्रमण वर्ष स्थगित भएको छ तर नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० ले भ्रमणप्रति विशेषगरी युवाहरुलाई आकर्षित गरेको छ। नेपाल भ्रमण वर्ष स्थगित भएपछि यसलाई अवसरको रुपमा लिनुपर्दछ र यहाँ रहेको गन्यापधुरा यस क्षेत्रकै प्रशिद्ध धार्मिकस्थल हो जसका कारण गन्याप मन्दिर दर्शन गर्न लालायितहरु पनि धेरै छन्। ती धार्मिक यात्रीहरुलाई पनि यस क्षेत्रसम्म लग्न सकिन्छ भने भौगोलिक कारण र समय अभावको कारण खप्तड र बढीमालिका जस्ता पर्यटकिय एवं धार्मिक गन्तव्य पुग्न नसक्नेहरका लागी बैकल्पिक पर्यटकिय गन्तव्य हुन सक्छ । 

पर्यटकलाई आकर्षित गर्न के गर्नुपर्ला ? 
यस क्षेत्रसंग सरोकार राख्नेहरु संगको नजिकको समन्वय र सहकार्यमा यस क्षेत्रको प्रचारप्रसार एवं यस क्षेत्रको एकदम नजिकसम्म यातायातको सुरक्षित र सुविधायुक्त व्यवस्था हुन। किन  भने पर्यटनको प्रवद्र्धनको लागी सबैभन्दा पहिलो शर्त भने पर्यटकिय गन्तव्य सम्मको पहुँच हो। अर्काे कुरा पदमार्गमा आवश्यक पर्ने विश्रामस्थल अर्थात चौतारोहरु निर्माण गर्नु आवश्यक देखिन्छ भने बाटोमा खानेपानीको व्यवस्था अपर्यहार्य आवश्यकता हो। पद यात्रामा यात्रीहरु नझुक्किने किसिमको सामान्य ट्रयाक बनाउन सक्यो भने सहज हुने देखिन्छ।

यहाँसम्म पुग्ने बाटोहरुमा साईनपोष्टहरु नहुदा धेरै यात्रुहरु बाटो अलमलमा पर्ने गर्दछन्। त्यसैले सम्भावित पदयात्रीहरुलाई सहज गर्नको लागी बाटोमा साईनपोष्ट राख्नु आवश्यक देखिन्छ। भने पर्यटकिय गन्तव्यमा थप आकर्षक बनाउन गन्यापतालको तल्लो क्षेत्रमा कृतिम ताल निर्माण गर्न सकियो भने यस क्षेत्रको पर्यटनमा उल्लेखनिय र आशा लाग्दो परिवर्तन ल्याउन सकिन्छ यसका लागि सम्भाव्यता अध्ययन गर्न सकिन्छ। 

लामिताल र गन्यापतालको मध्यविन्दुको हाराहारीमा समुन्द्रि सतहबाट २६७१ मिटरको उचाईमा स्तम्भ रहेको छ। जसलाई कसैले दुरविन डाँडा भनेर चिन्ने गर्दछन् भने कसैले कम्पास डाँडा भनेर पनि चिन्ने गर्दछन्। जानकारका अनुसार त्यहाँ विदेशीहरुको टोली अध्ययन र अन्वेषणको क्रममा बसेका थिए र हालपनि उक्त स्थानबाट खुला मौसममा कर्णालीको चिसापानि देखि ब्रमहदेवसम्मको दृश्यावलोकन गर्न सकिन्छ जुन स्थानलाई सुविधायुक्त भ्यूटावरको रुपमा विकास गर्न सकिन्छ।

हुन त विश्व तथा मुलुकको वर्तमान अवस्था, आर्थिक लगानी, पर्यटकको आगमनको अवस्था लाई हेर्ने हो भने त्यो महंगो विकल्प मानिएला तर दिर्घकालिन फाईदाको लागि नयाँ आकर्षणको रुपमा यदि डडेल्धुराको कुनैपनि स्थानबाट केवलकार स्थापनागरी गन्याप मन्दिर हुँदै गन्यापतालसम्म सेवा विस्तार गर्न सकेमा यस क्षेत्रमै नौलो पर्यटकिय गन्तव्यको रुपमा तालको लेकलाई अगाडी बढाउन सकिन्थ्यो। जहाँ युवा पर्यटक मात्र नभएर बालकदेखि बृद्धसम्म लाई घुमाउन सकिन्थ्यो। त्यस्तै आन्तरीक मात्र नभएर छिमेकी भारतका प्रशस्त पर्यटकहरुलाई समेत आकर्षित गर्न सकिन्छ।

 विश्व्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण केही समयसम्म बाह्य पर्यटकहरु नेपालमा एकदमै कम मात्रा भित्रिने अनुमान गरिन थालेको अवस्थामा अबको पर्यटन आन्तरिक पर्यटन हा।े जसका लागी यी र यस्ता अरु थुप्रै विकल्पहरुतर्फ स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार तथा पर्यटन प्रेमी र सम्बन्धीत सरोकारवालाहरुको ध्यान जानुपर्छ।   

    
 

कमेन्ट लोड गर्नुस