सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी वडा नम्वर २ मा १०० कठ्ठा कुहिएको चामल भेटियो

२०७७ जेठ २, ०२:०३ खबर संवाददाता

धनगढी : धनगढी उप–महानगरपालिका वडा नम्बर २ मा पनि एक सय कठ्ठा चामल कुहिएको भेटिएको छ।

उप–महानगरपालिकाले विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसबाट प्रभावित भएकाहरुलाई रहातमा वितरण गर्न खरिद गरेको एक सय कठ्ठा कुहिएको भेटिएको हो। उप–महानगरपालिकाले नै गठन गरेको छानविन समितिले अनुगमनका क्रममा २ नम्बर वडामा एक सय कठ्ठा चामल कुहिएको र किरा परेको भेटिएको जनाएको छ।

वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारीको संयोजकत्वमा गठन भएको छानबिन समितिले पहिलो दिन वडा नम्बर ४ को गोदाममा अनुगमन गरेकोमा आज दोस्रो दिन वडा नम्वर २ मा पनि अनुगमन गरेको हो।  

समितिमा वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारी संयोजक, वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐर, वडा नम्बर ९ का अध्यक्ष प्रेमबहादुर भण्डारी, वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी र कार्यपालिका सदस्य गिता पन्त सदस्य तथा उप–महानगरपालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्याय सदस्य सचिव रहेका छन्।

धनगढीका विभिन्न वडामा उप–महानगरपालिकाले वितरण गरेको राहतको चामल कुहिएको फेला परेपछि स्थानीयले फिर्ता गरेका थिए। धनगढी उप–महानगरपालिकाले २ करोड ६१ लाखमा ठाकुर ट्रेड लिंकलाई राहत सामाग्री खरिदको टेण्डर दिएको थियो।

कमेन्ट लोड गर्नुस