सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी वडा नम्वर ५ मा पौने ६ लाखको ८८७ कठ्ठा चामल कुहिएको भेटियो

२०७७ जेठ २, ११:५१ खबर संवाददाता

धनगढी : राहत वितरणमा कुहिएको र किरा परेको चामल वितरण गरेपछि बिवादमा आएको धनगढी उप–महानगरपालिकाले गठन गरेको छानबिन समितिले दोस्रो दिन पनि अनुगमन जारी राखेको छ।

वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारीको संयोजकत्वमा गठन भएको छानबिन समितिले पहिलो दिन वडा नम्बर ४ को गोदाममा अनुगमन गरेकोमा आज दोस्रो दिन वडा नम्वर ५ मा अनुगमन गरेको हो। वडा नम्वर ५ को सामुदायिक प्रहरी कार्यालयमा रहेको गोदाममा अनुगमन गरिएको हो। 

वडा नम्वर ५ मा १५ किलोग्राम तौल भएका सबै कठ्ठा (पोका) चामल कुहिएको फेला परेको छ। छानविन समितिले दिएको जानकारी अनुसार वडा नम्वर ५ मा १५ किलोका ८ सय ८७ कठ्ठा चामल कुहिएको र किरा परेको भेटिएको हो।

८ सय ८७ पोकामा १३ हजार तीन सय पाँच किलो चामल कुहिएको भेटिएको छानविन समितिले जनाएको छ। जस्को मूल्य पाँच लाख ८५ हजार भन्दा बढि हुन्छ। यसअघि वडा नम्वर ४ मा मात्रै २ सय ६९ पोका चामल कुहिएको फेला परेको थियो। छानविन समितिलाई तीन दिन भित्रै प्रतिवेदन बुझाउन पर्नेछ।

समितिमा वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारी संयोजक, वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐर, वडा नम्बर ९ का अध्यक्ष प्रेमबहादुर भण्डारी, वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी र कार्यपालिका सदस्य गिता पन्त सदस्य तथा उप–महानगरपालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्याय सदस्य सचिव रहेका छन्। 

धनगढीका विभिन्न वडामा उप–महानगरपालिकाले वितरण गरेको राहतको चामल कुहिएको फेला परेपछि स्थानीयले फिर्ता गरेका थिए। धनगढी उप–महानगरपालिकाले २ करोड ६१ लाखमा ठाकुर ट्रेड लिंकलाई राहत सामाग्री खरिदको टेण्डर दिएको थियो।
 

कमेन्ट लोड गर्नुस