पूर्व–पश्चिम राजमार्गको कैलाली खण्डमा मर्मतको काम ठप्प
धनगढी : कोरोनाको जोखिमलाई नियन्त्रण तथा रोकथाम गर्नको लागि नेपाल सरकारले देशमा लकडाउन घोषणा गरेदेखि पूर्व–पश्चिम राजमार्गको कैलाली खण्डमा मर्मतको काम ठप्प रहेको छ।
कोरोना संक्रमणको जोखिमका कारण सडकमा काम गर्ने मजदुरहरु घर गएपछि राजमार्ग मर्मतको काम ठप्प रहेको हो। सडक डिभिजन कार्यालय महेन्द्रनगरले कालीका जोशी जेभीलाई तीन वर्षको लागि सडक मर्मतको जिम्मा दिएको छ।
‘लकडाउनका कारण सडकमा काम गर्ने मजदुरहरु घर गएपछि काम रोकिएको छ,’ कालीका जोशी जेभीका संचालक गणेशदत्त जोशीले भने, ‘मजदुर फर्किएपछि प्रशासनसंग समन्वय गर्दै मर्मतको काम फेरी सुचारु गर्ने योजना छ।’
मजदुरलाई ल्याउने प्रक्रिया सुरु भईसकेका कारण अवको केही दिनमा पुनः काम थालिने उनले बताए।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले कैलाली खण्डको चौकीडाँडादेखि चिसापानी सम्म ७९ किलोकिलोमिटर सडक नियमित मर्मतको लागि १५ करोड ९० लाख ९१ हजारमा ठेक्का सम्झौता गरेको थियो।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले लकडाउनपछि मर्मतको कार्य रोकिएको स्विकार गरे।
‘तीन वर्षको लागि सडक मर्मतको सम्पूर्ण जिम्मेवारी पाएको निर्माण कम्पनी कालिका जोशी जेभीले २०७६ को वैशाखदेखि काम सुरु गरेको थियो। एक वर्षको अवधीमा झण्डै एक करोड ३० लाखको हाराहारीमा भुत्तानी भएको छ।’ सूचना अधिकारी जोशीले भने।
झण्डै दुई महिनादेखि सडक मर्मतको काम ठप्प रहेपछि दर्जनौं स्थानमा परेका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ। लकडाउनकै अवधीमा पनि अत्यावश्यक कामका लागि सोही राजमार्ग भएर आवागमन हुने गरेको छ।