सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा राहतको चामल खरिदमा आर्थिक चलखेल, पाँचपटक सप्लयार्ससंग बैठक, त्यसपछि ठेक्का

२०७७ जेठ १, ०७:२० नवराज पनेरु

धनगढी : आर्थिक चलखेल गर्नकै लागि धनगढी उप–महानगरपालिकाले चामल खरिद गर्दा विस्तृत विवरण समेत नबनाएको खुलेको छ। चामल लगायत दाल, खाने तेल, चिनी, नुन र साबुन खरिद गर्दा उप–महानगरपालिकाले स्पेसिफिकेसन अर्थात विस्तृत विवरण समेत तयार नपारेको खुलेको हो।

सार्वजनिक खरिद ऐन अनुसार कुनै पनि ठेक्का आह्वान गर्दा सामानको प्रकृती अनुसार स्पेसिफिकेसन अर्थात विस्तृत विवरण सुरुमा तयार गर्नुपर्ने प्रावधान छ। तर उप–महानगरपालिकाले ईच्छाएको सप्लायर्सलाई ठेक्का दिएर आर्थिक चलखेल गर्न स्पेसिफिकेसन नै नबनाएको खुलेको हो।

धनगढी उप–महानगरपालिकाले दाल, सावुन, चिनी र नुनसंगै तीन हजार तीन सय सात क्वीन्टल चामल खरिद गर्न ठेक्का आह्वान गरेको थियो। बोलपत्रको सूचनामा चामलको स्पेसिफिकेसन अर्थात विस्तृत विवरणमा मध्ये मसिनो चामल मात्रै उल्लेख गरिएको छ।

उप–महानगरपालिकाले मध्य मसिनो चामल मात्रै भनेर खरिद गरेपछि नीतिगत रुपमै भ्रष्टाचार गर्न खोजेको दावी धेरैको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख अनिल श्रेष्ठले चामल खरिद गर्दा सुरुमा स्पेसिफिकेसन अनिवार्य रहेको बताए।

‘हामीले मध्य मसिनो चामल खरिद गर्दा कनिका बढिमा २० प्रतिशत, बाह्य पदार्थ शून्य दशमलव ५ प्रतिशत, बिग्रेको दाना २ प्रतिशत, रातो र चक्की दाना बढिमा ६ प्रतिशत तथा रंग उडेको दाना बढिमा दुई प्रतिशत राख्ने गरेका छौँ। अन्य निकायले चामल खरिद गर्दा प्रतिशत तलमाथि हुन सक्छ। तर त्यो उल्लेख नै नगरी टेण्डर आह्वान भने गर्न नै पाईदैन्।’ श्रेष्ठले दिनेश खवरलाई भने। 

उक्त विस्तृत विवरण बनाएपछि मात्रै टेण्डर आह्वान गर्नुपर्ने मापदण्ड नै रहेको छ। तर उप–महानगरपालिकाले आर्थिक चलखेल गर्न सजिलो होस भन्नकै लागि त्यो नखुलाएको तर्क धेरैको छ। टेण्डरमा कुन गुणस्तरको चामल खरिद गर्ने हो भन्ने विषय नै उल्लेख नभएपछि आपूर्तिकर्ताको पनि मनमौजी भएको छ।

धनगढी उप–महानगरपालिकाले पनि चामलको परिणाम मात्रै उल्लेख गरेको र चामलको विस्तृत विवरण नबनाएको स्विकार गरेको छ। यस्तै टेण्डरमा उप–महानगरपालिकाले सप्लायर्सका लागि विभिन्न १९ वटा सर्त राखेको छ।

‘ति सर्त ठेक्का पाएको सप्लायर्स अर्थात ठाकुर ट्रेड लिंकका सञ्चालकसंगै बसेर उप–महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले बनाएको हो। टेण्डर आह्वान गर्नुभन्दा पहिले पाँच पटकसम्म सप्लयार्ससंग उप–महानगरपालिकामा छलफल भएको छ। यसरी टेण्डर गर्दा मिलोमतो नभएर के हुन्छ ?’ उप–महानगरपालिकाकै जनप्रतिनिधिले दिनेश खवरलाई भने।

‘टेण्डर आह्वान अघि उप–महानगरपालिकाका जनप्रतिनिधिहरुले धनगढीकै केही खाद्य उद्योहरुलाई टेलिफोन गरेर तपाईहरु टेण्डर हाल्नु हुन्छ कि हुँदैन भनेर सोधेका थिए,’ उप–महानगरपालिकाकै एक जना कर्मचारीले भने, ‘टेण्डर हाल्न इच्छा जनाएका मध्ये ठाकुर ट्रेडका सञ्चालकलाई टेण्डर आह्वान हुन पहिलेदेखि नै बैठकमा बोलउन थालियो। उनकै सहमती अनुसार सर्तहरु निर्धारण भए र अन्य कसैले पनि टेण्डर हाल्न पाएन्।’ 

लकडाउनपछि समस्यामा परेका परिवारलाई खाद्यान्न वितरण गर्न सुरुमा वडा कार्यालयहरुले नै खाद्यान्न खरिद गर्ने तयारी गरिएको थियो। वडा कार्यालयहरुले खरिदको तयारी गर्दा अन्तिममा आएर उप–महानगरपालिका आफैले खरिदको निर्णय गर्दै टेण्डर आह्वान गरेको थियो।

अहिले आपूर्तिकतालाई कारवाही गरिएको र उप–महानगरपालिकाबाट कुनै कमजोरी नभएको भन्दै आर्थिक चलखेल गरेरै गल्ति ढाकछोप गर्ने प्रयास भईरहेको छ। यता धनगढी उप–महानगरपालिकाका मेयर नृप वहादुर वडले भने, ‘सप्लायर्सलाई कारवाही भईसकेको छ। अन्य कुनै कमजोरी देखिए संग्लन सबैलाई कारवाही हुन्छ।’

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस